November 10th, 2016

वित्तीय जागरण राष्ट्रिय अभियान सुरु हुँदै

financial-literacyमिडिया इन्टरनेशनलले वित्तीय जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । बुद्धको जन्मस्थल लुम्बिनीबाट सो अभियानको सुरुवात शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले गर्नेछन् । ‘बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको एउटा विकट गाउँ रुद्रपुरबाट वित्तीय जागरण अभियान सुरु गर्दैछौँ’, आयोजक मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले भने, ‘हामी यो कार्यक्रमलाई देशभरि सञ्चालन गर्नेछौँ ।’ 

रुद्रपुरस्थित ज्ञान निकेतन उच्च माविमा समुद्घाटन हुने सो कार्यक्रममा १० हजारभन्दा बढीको सहभागीता रहने आयोजकको विश्वास छ । कार्यक्रममा लुम्बिनी अञ्चलका विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागीता रहने जनाइएको छ । ती बैंक तथा वित्तीय संस्थाका विभिन्न चेतनामूलक स्टलहरु रहने निर्दोषले बताए । कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्संघ, विकास बैंकर्स संघ र नेपाल लघुवित्त विकास बैंकर्स संघले समन्वय गरेका छन् । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई उदाहरणका रुपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्व र त्यसबाट लिन सकिने फाइदा बारे सर्वसाधरलाई अवगत गराइने छ । त्यस्तै पैसा के हो, यसको परिचालन कसरी गर्ने, बैंक तथा वित्तीय संस्था कारोबार गर्दाका फाइदाबारे पनि सूचनामूलक स्टलमार्फत जानकारी गराइनेछ । 

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि झण्डै २० प्रतिशत नागरिक अझै पनि साहू महाजनसँग नै कारोबार गरिरहेको तथ्यका बीच मिडिया इन्टरनेशनले गर्न लागेको यस कार्यक्रमले वित्तीय साक्षरता बढाउन निकै महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।