भारतले ५ सय र एक हजार भारतीय रुपैयाँको प्रयोगमा प्रतिवन्द लगाउने घोषणा गरेपछि यस विषयमा नेपालमा के गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैकको आकस्मिक बोर्ड बैठक बस्दै छ । भारतले यी नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि तत्काल निर्णय लिनु पर्ने भन्दै अपराह्न तीन बजेपछि राष्ट्र बैंकको आकस्मिक बोर्ड बैठक बस्न लागेको हो । राष्ट्र बैंकको बोर्ड बैठक बिहिबारका लागि तोकिएको भए पनि यसको तयारीको लागि भन्दै आजै आकस्मिक बैठक बस्न लागेको डिपुटी गर्भनर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रका नाममा संबोधन गर्दै ५ सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । राष्ट्र बैंकले अव सूचना जारी गरेर प्रतिबन्धित ५०० र एक हजारका भारतीय नोट आफुसँग साट्न आग्रह गर्ने तयारी गरेको छ । भारतमै पचास दिनभित्र पूराना नोट संकलन गर्ने सीमा तोकेकोले राष्ट्र बैकले पनि तत्कालै निर्णय लिनुपर्ने अवस्था आएको हो ।
राष्ट्र बैंकका अनुसार आफुसँग यो दरका नोट छैनन् । नेपालमा लामो समय प्रतिबन्धित यी नोट दुई वर्ष अघि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि मात्र चलनचल्तीमा ल्याइएको थियो । त्यसपछि धेरै नेपालीसँग ५०० र एक हजार भारतीय रुपैयाँका नोटहरु छन् । भारतले कालोधन र नक्कली नोट नियन्त्रणको लागि ऐतिहासिक निर्णय गरेको हो ।
नेपाल र भारतबीच खुला सिमाका एवं व्यापारदेखि रोजगारीसम्मको सम्वन्ध छ । भारतमा रोजगारी गर्न गएका सर्वसाधारण देखि व्यापार गर्नेसम्म भारतीय ५०० र एक हजारका नोट हुन सक्ने अनुमान छ । नेपालमा मात्रै नभइ भारतीय नोट सार्कका बंगलादेश, श्रींलका, भुटानदेखि खाडी मुलुकसम्म साटिन्छ । त्यसैले ति देशमा समेत यो निर्णयको प्रभाव पर्ने जनाईएको छ ।