November 7th, 2016

अझै सम्हालिएन नेप्से : दोहोरो अंकले बजार घट्दा कसले कमाए ? कसले गुमाए ?

stockतिहारपछि कारोबार खुलेको पहिलो दिन सामान्य बढेर लगानीकर्तालाई राहत दिएको सेयर बजारले दोस्रो दिनमै लगानीकर्तालाई निराश पारेको छ । सोमबार सेयर बजार २२.८४ अंकले घटेर १७४९.३७ अंकमा कायम भएको छ । बजार घटेपछि कारोबार रकम पनि उकालो लाग्न सकेको छैन । बजार ६८ करोडको कारोबारमा सीमित भएको छ । दिनरिमा एक सय ३४ वटा कम्पनीहरुको आठ लाख ६७ हजार ७९ कित्ता सेयर चार हजार एक सय ६९ पटक खरिदविक्रि हुँदा कुल ६८ करोड छ लाख ५० हजार आठ सय ९५ रुपैयाँ बराबरको पुँजी परिचालन भएको हो । 

बीमा, उत्पादनमूलक, जलविद्युत् र बैंकिङ समूहले सोमबारको बजार घटाएका छन् । यी चार समूहहरु क्रमशः ४९.२३, ३२.०२, २१.९ र १८.०१ अंकले घटेका छन् । विकास बैंक र अन्य समूह पनि क्रमशः ०.०८ र १.४४ अंकले घटेका छन् । होटल र फाइनान्स भने क्रमशः १०.९ र १.०२ अंकले बढेका छन् । 

सोमबार कुनै पनि कम्पनीको आकर्षक कराोबार हुन सकेन । सबैभन्दा धेरै सिभिल बैंकको सवा पाँच करोडको कारोबार भएको छ भने एभरेष्ट बैंकको पौने पाँच करोड, नेको इन्स्योरेन्सको चार करोड ३० लाख र मुक्तिनाथ विकास बैंकको चार करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको साढे तीन करोडको कारोबार हुँदा लुम्बिनी जेनेरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त, माछापूछ्रे बैंक, नेपाल बंगलादेश बैंक लगायतको एक करोड ९० लाखमाथिको कारोबार भएको छ । 

बजारम ागिरावट आउँदा पनि लक्ष्मी लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एनएमबी माइक्रोफाइनान्स, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सका सेयरधनीले क्रमशः ९.९५, ९.८९ र ९.८२ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । किसान माइक्रोफाइनान्स, नागबली लघुवित्त, कालिका माइक्रोक्रेडिट, विजय लघुवित्त, ललितपूर फाइनान्स, सगरमाथा फाइनान्स लगायतले पनि राम्रो कमाइ गरेका छन् । 

रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले ५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । मितेरी डेभलपमेन्ट बैंक, प्राइम बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, तारागाउँ रिजेन्सी, सांग्रिला डेभलपमेन्ट बैंक, सिभिल बैंक, अपि पावर कम्पनी, कृषि विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी लगायतले पनि गुमाएका छन् ।