अब छिटै नै बजारमा २ अर्ब ८० करोड रुपैयाँको म्युचुअल फण्ड आउने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंकले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ६० करोड रुपैयाँको ‘एनआईबिएल प्रगति फण्ड’ जारी गर्न गत जेठ ३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । त्यस्तै, लक्ष्मी बैंकले एक अर्ब रुपैयाँको लक्ष्मी भ्यालु फण्ड जारी गर्नका लागि गत जेठ ३१ गते बोर्डमा निवेदन दिएको थियो । यता, सिद्धार्थ बैंकले एक अर्ब २० करोड रुपैयाँको सिद्धार्थ इक्विटी फण्ड जारी गर्ने अनुमति माग गर्दै गत असोज ४ गते बोर्डमा निवेदन दिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको म्युचुअल फण्ड एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडले जारी गर्नेछ भने लक्ष्मी भ्यालु फण्ड लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमार्फत जारी गरिनेछ । त्यस्तै, सिद्धार्थ इक्विटी फण्ड सिद्धार्थ क्यापिटल लिमिटेडले निष्काशन गर्नेछ ।
यसअघि, नबिल बैंकको १ अर्ब रुपैयाको ‘नबिल इक्युइटी फण्ड’ र एनएमबी बैंकको ८० करोड रुपैयाको ‘एनएमबी हाइब्रिड फण्ड एल–१’ ले निष्काशनको अनुमति पाइसकेका छन् । यी दुई बैंकलाई धितोपत्र बोर्डले गत भदौ १४ गते अनुमति दिएको हो ।