Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुनमा छ तपाईँको सेयर ? हकप्रद भर्न छुटाउनुभयो कि ? हेर्नुस् हकप्रद निष्काशन भइरहेका तीन बैंकहरु

२०७३ कार्तिक २२ गते

पछिल्लो समय नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि सम्बन्धी नीतिको नतिजास्वरुप हकप्रद निष्काशन गर्ने बैंक तथा फाइनान्स कम्पनीहरुको लहर लागेको छ । यति बेला कृषि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन भइरहेको छ । यी बैंकमा तपाईँको पनि सेयर छ भने, हेर्नुस् कुन बैंकको हकप्रद भर्ने म्याद कहिलेसम्म छ ? कहाँ पाइन्छ आवेदन फारम ? 

कृषि विकास बैंकको झन्डै दुई करोड कित्ता
adblकृषि बिकास बैंकले गत कात्तिक ३ गतेदेखि ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरिरहेको छ । बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदमा मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकको शेयरमा असोज ९ गतेसम्म शेयर स्वामित्व रहेका र लगानी गरेकाहरुले आवेदन दिन पाउने छन् । कृषि बिकास बैंकको बिभिन्न कार्यालयसहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट बैंकको शेयरमा आवेदन दिन सकिनेछ ।

मितेरी डेभलपमेन्ट बैंकको साढे १० लाख कित्ता
miteriमितेरी डेभलपमेण्ट बैंकले पनि गत कात्तिक १ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । लगानीकर्तालाई ३० प्रतिशत बोनस प्रस्ताव गरेको बैंकले एक सय रुपैयाँ अंकित दरका १० लाख ५६ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । गत असोज ५ गतेसम्म शेयर किनेका लगानीकर्ताले मात्र बैंकको हकप्रदका लागि आवेदन दिन पाउने छन् । उक्त हकप्रद सेयरका लागि मंसिर ५ गतेसम्ममा भरिसक्नु पर्ने छ । धरानमा मुख्य कार्यालय रहेको बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकको हकप्रद शेयरको आवेदन प्रभु क्यापिटल, कमलादी, मितेरी डेभलपमेण्ट बैंकको मुख्य कार्यालय धरान तथा सबै शाखामा बुझाउन सकिनेछ । २१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३१ करोड ६८ लाख रुपैंया नाघ्नेछ भने प्रस्तावित बोनस समेत वितरण गरे पछि पूँजी ३८ करोड रुपैंया नाघ्नेछ ।

अरनिको डेभलपमेन्ट बैंक
aranikoअरनिको डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सर्वसाधारण सेयरधनीका लागि नौ करोड २८ लाख १९ हजार ३४ रुपैयाँ बराबरको हकप्रद सेयरका लागि आवेदन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका नौ लाख २८ हजार एक सय ९० कित्ता हकप्रद सेयर खुला गरेको हो । गत असोज २७ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । १० कित्ता सेयर हुने सेयरधनीले ३.६ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्रिको प्रबन्ध सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड (अनामनगर), सिद्धार्थ बैंकका देशभरिका शाखा र अरनिको डेभलपमेन्ट बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरुमा हकप्रद भर्न पाइनेछ । कात्तिक ८ गतेदेखि सुरु भएको हकप्रद निष्काशन आगामी मंसिर १२ गतेसम्म खुला रहनेछ । हाल अरनिको डेभलपमेन्ट बैंकको चुक्तापुँजी २५ करोड ७८ लाख ३० हजार छ सय ५० रुपैयाँ रहेको छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी ३६ करोड नाघ्नेछ ।