July 20th, 2023

कर्जा असुलीः यस्तो छ कानूनी व्यवस्था

बैंकिङ खबर/ ऋणीले सम्झौताअनुसार भाकाभित्र कर्जा र ब्याज वा हर्जाना चुक्ता नगरेमा बैंक वा वित्तीय संस्थाले धितो राखेको सुरक्षणलाई लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाले आफ्नो साँवा–ब्याज असुलउपर गर्न सक्ने व्यवस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा उल्लेख छ ।

धितो राखेको सुरक्षण कुनै किसिमले कसैलाई हक छाडिदिएमा वा अन्य कुनै कारणबाट सुरक्षणको मोल घट्न गएमा बैंक वा वित्तीय संस्थाले निश्चित म्याद दिई त्यस्तो ऋणीलाई थप धितो सुरक्षण राख्न लगाउन सक्नेछ । ऋणीले बैंक वा वित्तीय संस्थाले थप धितो सुरक्षण राख्नुपर्नेछ ।

ऋणीले थप धितो नराखेमा वा राखेको धितो सुरक्षणबाट सावाँ–ब्याज असुलउपर हुन नसकेमा बैंक वा वित्तीय संस्थाले ऋणीको स्वामित्वमा रहेको वा ऋणीको हक लाग्ने अन्य चल–अचल सम्पत्तिबाट साँवा–ब्याज असुलउपर गर्न सक्ने ऐनमा उल्लेख छ ।

ऋणीले बैंक वा वित्तीय संस्थासँग लिएको कर्जा र सोमा लाग्ने ब्याज तथा हर्जाना कर्जा लेनदेनसम्बन्धी लिखत वा करारमा उल्लिखित भाकाभित्र चुक्ता नगरेमा बैंक वा वित्तीय संस्थाले त्यस्तो ऋणीलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्र लिमिटेडमा लेखी पठाउनुपर्छ ।