कारोबार दैनिकका पुर्व सम्पादक एवं अग्रज आर्थिक पत्रकार सञ्जय न्यौपानेको शनिबार साँझ निधन भएको छ । ललितपूरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । विगत एक बर्ष देखि उनी ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ नामक स्नायु प्रणाली सम्बन्धी समस्याबाट पीडित थिए ।
४५ बर्षिय न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारिता क्षेत्रमा क्रियाशील थिए । उनले कान्तिपुर दैनिकमा १४ वर्ष पत्रकारिता गरेका थिए । कान्तिपूर दैनिकका लागि ललितपूर संवाददाताबाट सुरु भएको उनको करिअर कान्तिपुरको विजशेन ब्युरो प्रमुख हुँदै चिफ रिपोर्टरसम्म पुगेको थियो ।
त्यसपछि उनी कारोबारको सम्पादक नियुक्त भए । कारोबार दैनिकमा उनले २०७० असारदेखि २०७२ चैत्रसम्म सम्पादक भएर काम गरेका थिए ।
न्यौपानेले अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डबाट अध्ययन गरेका थिए । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पुर्व उपाध्यक्ष समेत रहेका थिए ।
ललितपुर गोदावरीका स्थायी बासिन्दा न्यौपानेका बुबा, आमा, श्रीमती एवं एक छोरा र एक छोरी छन् । न्यौपानेको शनिबार साँझ नै पशुपति आर्यघाटमा दाह संस्कार सम्पन्न भएको छ ।


