November 4th, 2016

२०.७५ प्रतिशत बोनस सेयर दिँदै माछापूछ्रे बैंक, पुँजी पुर्याउन मर्जरको विकल्प खुला

maxaमाछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई २०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको विहिबार बसेको संचालक समितिको बैठकले गतबर्षको खुद मुनाफाबाट २०.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्तापूँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । २०.७५ प्रतिशत बोनस वितरण गरेपछि बैंकको पुँजी ८० करोड रुपैयाँले बढ्नेछ । चार अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप ०७४ असार मसान्तसम्ममा बैंकले आठ अर्ब पुँजी पुर्याउनुपर्नेछ । जसअनुसार, अबको आठ महिनामा बैंकले तीन अर्ब ३३ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । यसका लागि बैंकले हालको चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ । बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबरको अर्थात हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि बोनस जोड्दा चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । बाँकी पुँजी जुटाउनका लागि बैंकले मर्जर तथा एक्विजिसनको विकल्प पनि खुला राखेको छ ।