बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०), २०७६ लाई संशोधन गरेको छ । नयाँ कार्यविधिमा दैनिक तरलता सुविधा उपयोग गर्ने प्रक्रियालाई स्पष्ट गरेको छ ।
यस्तो छ नयाँ कार्यविधिमा दैनिक तरलता सुविधा उपयोग गर्ने प्रक्रिया
(क) यस बैंकबाट सञ्चालित आर.टि.जि.एस. प्रणालीमा सहभागी संस्थाले मात्र दैनिक तरलता सुविधा उपयोग गर्न पाउने छन्।
(ख) दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुईजना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेश गर्नुपर्नेछ । निवेदनको ढाँचा अनुसूची १ मा उल्लेख भएबमोजिम हुनेछ ।
(ग) दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले यस बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधासम्बन्धी सम्झौता गर्नुपर्नेछ । सम्झौताको ढाँचा अनुसूची–२ मा उल्लेख भएबमोजिम हुनेछ ।
(घ) दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न यस बैंकको बैंकिङ विभागमा निवेदन दिनुपर्नेछ । निवेदनको ढाँचा अनुसूची–३ मा उल्लेख भएबमोजिम हुनेछ । सोही आधारमा बैंकिङ विभागले प्रचलित लेखा निर्देशिका तथा बैंकिङ कार्य निर्देशिका बमोजिम निवेदक संस्थाको नाममा खाता खोली खाता नम्बर प्रदान गर्नेछ ।
(ङ) दैनिक तरलता सुविधावापत उपयोग गर्नसक्ने अधिकतम सुविधा सीमा र अवधिको लागि संस्थाले मौद्रिक व्यवस्थापन विभागसँग भएको सम्झौता र बैंकिङ विभागबाट खोलिएको खाताको विवरण तथा धितो राखिने सुरक्षणपत्रको सक्कलै प्रति (ब्याज भुक्तानी पुर्जा भएका सुरक्षणपत्रको हकमा सो घ समेत) सहित अनुसूची–४ बमोजिमको निवेदन मौद्रिक व्यवस्थापन विभागमा दिनुपर्नेछ । सोको आधारमा पेश भएका सुरक्षणपत्र रोक्का राखी मौद्रिक व्यवस्थापन विभागले धितो व्यवस्थापन खातामा सुविधा रकमको सीमा र अवधि निर्धारण गरी प्रचलित बैंकिङ प्रणालीमा प्रविष्ट गर्नेछ ।
(च) संस्थाले उपयोग गर्न सक्ने दैनिक तरलता सुविधा वापतको अधिकतम सुविधा रकम परिच्छेद–४ बुँदा नं. ६(क) बमोजिमको सीमा ननाघ्ने गरी धितो राखिएका सुरक्षणपत्रको मूल्याङ्कनको आधारमा कायम गरिनेछ ।
(छ) प्राप्त सुरक्षणपत्रको आधारमा धितो व्यवस्थापन खातामा रकम मौज्दात कायम भएपश्चात दैनिक तरलता सुविधा उपयोग गर्न सकिनेछ र सो कारोबारको हिसाब फरफारक सोही दिनको तोकिएको समयभित्र गरिनेछ ।
(ज) दैनिक तरलता सुविधामार्फत संस्थाले उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फरफारक हुन नसकेमा स्वीकृत सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाका रुपमा गणना हुनेछ । यस्तो सुविधामा लाग्ने ब्याजको गणना प्रचलित नीतिगत दरमाद्द गरिनेछ । सार्वजनिक बिदाका कारण सुविधाको समय एकदिन भन्दा बढी भएमा पनि सो अवधिको ब्याज गणनासमेत नीतिगत दरमा नै गरिनेछ ।