२०८० असार १ गते

विद्युतीय भुक्तानी प्रयोग गर्दा सजगता अपनाऊः राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विदुतीय भुक्तान उपकरण प्रयोग गर्दा सजगता अपनाउन आह्वान गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै डिजिटल भुक्तानीका उपकरण प्रयोग गर्दा सचेत हुनुपर्ने बताएको छ ।

‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी-निश्चित अंकको नम्बर नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको छ,’ राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै भनेको छ ।

यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ-इन्टरनेट बैंकिङ-कनेक्ट आईपीएस÷वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरेको राष्ट्र बैंकले जनाएको छ । ‘यसरी पावर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पु¥याइ ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको,’ राष्ट्र बैकको सूचनामा भनिएको छ, ‘यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्नु÷नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

कसैले यस प्रकारका घटना गराउन उत्प्रेरित गरेमा सोको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य संस्थाहरुलाई यस्ता अवाञ्छित गतिविधिहरुलाई सूक्ष्म रुपमा निगरानी गर्ने समेत निर्देशन दिएको छ ।