गत कात्तिक ९ गतेदेखि १२ गतेसम्म सिद्धार्थ क्यापिटलले निष्काशन गरेको अरुण काबेली पावर लिमिटेडको ३० लाख कित्ता आईपीओका १२ अर्ब रुपैंयाको आवेदन पर्यो । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो डेभलपर लिमिटेडले स्थानीयका लागि आईपीओ निष्कान गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् ।
यसबाहेक ११ वटा कम्पनी आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिको पखाईमा छन् । पाइपलाइनमा रहेका ११ कम्पनीमध्ये सात वटा जलविद्युत् कम्पनी र दुई वटा माइक्रोफाइनान्स छन् भने बाँकी दुईमध्ये एउटा क वर्गको बैंक र अर्को बीमा कम्पनी छ । जलविद्युत् कम्पनीहरुमध्ये, हिमालयन पावर पार्टनर, आँखुखोला, छ्यांदी, मैलुङ खोला, गर्जङ उपत्यका र राधीले स्थानीयका लागि साधारण सेयर जारी गर्न लागेका हुन् भने सिनर्जी पावर डेभलपमेन्टले सर्वसाधारण जनताका लागि सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । त्यस्तै, समता र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले पनि आईपीओ निष्काशन गर्दैछन् भने नेपाल एसबीआई बैंक र नेपाल लाइफ इन्स्योरेन्सले पनि आईपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।