भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय नेपाल भ्रमण एकदमै व्यवस्थित हुने भएको छ । यसका लागि सुरक्षासहित सम्पूर्ण आवश्यक प्रबन्ध मिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण तीनदिनको हुनेछ ।
यस्ता छन् कार्यक्रमहरु
राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् । उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नेछन् । विहीबार नै उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई उनले सम्बोधन गर्नेछन् ।
राष्ट्रपति मुखर्जी नेपालमा रहँदा राजनीतिक दलका नेताहरुले उनीसंग शिष्टाचार भेट गर्नेछन् । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । साथै, उनको सम्मानमा नागरिक अभिनन्दन समेत गरिने भएको छ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानेछन् । राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि नेपाल र भारतका झन्डा तथा स्वागत सन्देशका तुलहरु चोकचोकमा राखिएको छ । उनको सवारी रुटमा पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।
सवारी आवागमनमा बाधा
मुखर्जीको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
आज बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग अवरुद्ध हुनेछ ।
त्यस्तै, अपराह्न १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग अवरुद्ध रहनेछ भने अपराह्न १ः४५ देखि ३ः४५ बजे गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्रमा सवारी अवागमनमा बाधा सिर्जना हुने बताइएको छ ।
साँझ ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म भने गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्रमा सवारी साधन ओहारदोहारमा समस्या सिर्जना हुनेछ ।