२०७३ कार्तिक १५ गते

मुखै रसाउने ‘विषादी’ मिठाई ध्यान नपुर्याए खर्चैखर्च

sweetsतिहारको बेला सर्वसाधरणले मिठाईमा ठूलै रकम खर्च गर्छन् । यो पर्वलाई नै मिठाई र मिठाईजन्य परिकारको रमझममा रम्ने खालको पर्वका रुपमा लिइन्छ । दिदीबहिनीले दाजुभाइलाई उपहार दिँदा, घरका पाहुना र देउसीभैलो खेल्नेको स्वागतमा यस्ता परिकार दिने चलन भएकाले सर्वसाधरले तिहारमा धैरै रकम मिठाईमा खर्च गरेका हुन् । तर पैसा खर्च गरिसकेपछि त्यो स्वस्थकर हुनु उत्तिकै महत्वपूर्ण हुन्छ ।

हामी पैसा खर्च गरेर मिठाई किन्छौँ तर त्यही मिठाई खाएका कारण उपचारमा अर्कोतिर पैसा खर्च गर्नुपर्यो भने कसैलाई पनि मजा आउँदैन । अहिले बजारमा पाइने मिठाई ढुक्कले खाने अवस्था देखिदैन । सरकारले चलाएको बजार अनुगमनले केही यथार्थ त बाहिर ल्याईसकेको छ । तर सो अनुगमनले मिठाई पसलहरुको वास्तविकता अझै पूर्ण रुपमा खोतल्न सकेको देखिदैन । किनभने अनुगमनले सामान्यतया मिठाई बनाउँदा प्रयोग हुने सामाग्रि र बनाउने प्रक्रियाबारे सुक्ष्म अध्ययन गरिएको छैन ।

मिठाई बनाउँदा प्रयोग हुने तेल नै कमसल र गुणस्तरहीन हुने गरेको छ । त्यस्तै मिठाईमा प्रयोग हुने रंगले त झन् मानवस्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ । मिठाई बनाउन प्रयोग हुने सामाग्रिहरुको मात्रा नमिलाई तयार गरिदा त्यसले उपभोक्ताको स्वास्थ्यमा असर पुर्याइरहेको छ । विशेषगरी मैदा र अत्यधिक दूध, चिनी, घिउ, तेललगायतको गुणस्तर र मात्रा नमिलाई मिठाई तयार पारिएको देख्न सकिन्छ । यसरी तयार पारिएका रङ¬युक्त मिठाईले उपभोक्ताको स्वास्थ्यमा ठूलो असर पार्न थालेकाले तिहारका बेला यस्ता मिठाई खाँदा सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ ।

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रका ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. निरज जोशीका अनुसार मिठाईका यस्ता परिकारमा धेरै चिल्लो पदार्थ, प्रोटिन र कार्बोहाइड्रेड पाइने र त्यो अत्यधिक खाँदा अनेक रोग निम्तिने गरेको छ । रङ, विभिन्न केमिकल मिसाएर तयार गरिएका यस्ता मिठाई शरीरमा विषका रूपमा परिणत हुन्छन् र दीर्घकालीन रूपमा विभिन्न समस्या निम्त्याउने गर्छन् ।

बजारमा पाइने अधिकांश रातो रङका मिठाईमा ‘फास्टरेड कार्मोइसिन’ नामक रसायन प्रयोग गरिन्छ । उक्त मिठाई खाँदा रगत झनै रातो बन्ने, हेलोग्लोबिनमा क्षति पुग्ने, रक्तअल्पतालगायत समस्या देखिन सक्छ । अधिकांश पहेंलो रङका मिठाईमा ‘सेन्सेटको एफसीएफ’ प्रयोग गरेर बिक्री गरिन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । आवश्यक पर्नेभन्दा बढी चिल्लो खाए शरीरभित्रै जम्मा हुने र बोसोमा परिणत भई मोटो र कमजोर बनाउने गर्छ । त्यससँगै चिल्लो र रङयुक्त खाद्यपदार्थले ग्यास्ट्रिक, उच्च रक्तचाप, हृदयाघातजस्ता रोग निम्त्याउँछ ।

मैदा र अत्यधिक दूध, चिनी, घिउ, तेल प्रयोग गरी बनाइने रङ¬युक्त मिठाईले स्वास्थ्यमा ठूलो असर पार्न थालेको छ । चिनी शरीरका कोषमा गएर बस्ने र भिटामिन सी कम हुने गर्छ । रगतमा ग्लुकोजको मात्रा उच्च रहेको अवस्थामा ‘इन्सुलिन’ नामक हार्मोन बढ्छ । यसले ‘ग्रोथ हार्मोन’ को उत्पादनमा कमी ल्याउँछ र रोगविरुद्ध लड्ने शक्ति घट्छ । इन्सुलिनले शरीरमा बोसो भण्डार गर्न तथा ‘ट्राइग्लिस्राइड’ नामक बोसोको मात्रा बढाउँछ । बोसोले शिशुमा दाँत र मिर्गौलाको समस्या हुने, मानसिक एकाग्रतामा कमी आउने र बढी गुलियो खानेको हड्डी खिइने, टाउको दुख्ने र माइग्रेनसमेत निम्त्याउने गरेको चिकित्सक बताउँछन् ।
 उपभोक्ताहरुले मिठाई किन्दा अलि सचेत हुनुपर्छ । सरसफाई र गुणस्तरमा ख्याल गर्ने मिठाई पसल रोज्नुपर्छ । सकेसम्म ड्राइफुडमा जोड गर्दा त्यसको असर मिठाईको त्यति धेरै हुँदैन । हामी स्वास्थ्यको लागि पैसा खर्च गर्छौँ तर त्यही खर्चमा उपभोग गरेको वस्तुले हामीलाई उपचारका लागि त्योभन्दा बढी रकम खर्च गर्न बाध्य पार्न सक्छ ।