२०८० जेष्ठ ४ गते

सडक पूर्वाधार सुधारका लागि एडिबीको ३९ अर्ब ऋण सहायता

बैंकिङ खबर/एशियन डेभलपमेन्ट बैंक (एडिबी) ले नेपालमा सडक पूर्वाधार विकासका लागि साढे ३९ अर्ब नेपाली रुपैयाँ (३०० मिलियन डलर) ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

हाल २ लेनमा सञ्चालन हुँदै आएको काकडभिट्टा–लौकही सडकको क्षमता विस्तार गरी ४ लेन बनाउने उद्देश्यले एडिबीले ३९ अर्ब ऋण सहयोग स्वीकृत गरेको हो। काकडभिट्टा–लौकही सडक निर्माण भएसँगै नेपाललाई भारत र बाङ्लादेशसँग व्यापार गर्न सहजीकरण हुने अपेक्षा गरिएको छ ।

९५ किलोमिटर दूरीको यो सडक विस्तारका लागि जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण समस्या आउन नदिन थर्मल रेजिसटेन्ट पेभमेन्ट डिजाइन गरिएको छ ।

यसका साथै एडिबीले यो सडक निर्माणका लागि आवश्यक पर्ने प्राविधिक सहायताका लागि करिब १० करोड नेपाली रुपैयाँ (७ लाख ५० हजार डलर) अनुदान सहयोग उपलब्ध गराउने जनाएको छ ।