नेपाली समाजमा लक्ष्मी पूजालाई पैसाको पूजा गर्ने दिनका रुपमा पनि लिइन्छ । यस दिन धनकी देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ । लक्ष्मी प्रायः साँझमा सबैको घरघरमा जाने भनाई रहेकाले लक्ष्मी पुजा साँझको समयमा नै गरिन्छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्ने गर्दछन् ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास समेत रहेको छ । यसरी भैलो माग्दै हिंड्ने समूहलाई लक्ष्मीकै स्वरुप मानेर धान, चामल, पैसा र नैवेद्य दिने चलन छ । यस दिन नयाँ नोटलाई लक्ष्मीको फोटो वा मुर्ति अघि राखेर पुजा गर्दा लक्ष्मी खुशी हुने र पैसा आर्जन भईरहने आम विश्वास रहिआएको छ । लक्ष्मीलाई उज्यालो मन पर्ने भएकाले लक्ष्मीलाई खुसी पार्नकै लागि फूलमालाले घर सजाउने, घरभरि दियो बत्ती बाल्ने गरिन्छ ।
लक्ष्मीलाई खुसी पार्ने भन्दै धनाढ्यहरुले घरको साजसज्जामा लाखौँको खर्च गर्ने गरेका छन् । धन नहुनेलाई त लक्ष्मी पुजा गरेर धन कमाउने आशा हुन्छ, धनाढ्यहरु किन गर्छन् त लक्ष्मीपुजामा लाखौँको खर्च । भनिन्छ नि, मानिस एकदमै असन्तुष्ट प्रवृत्तिको हुन्छ । आफूसँग भएको कुरामा उ कहिल्यै सन्तुष्ट हुन सक्दैन र सँधै थप कुराको चाहमा हुन्छ । त्यसैल, अझै बढी धन कमाउने आशामा लक्ष्मीलाई खुसी पार्न मात्रै उनीहरु लाखौँ खर्च गर्छन् ।
अर्को कुरा, धन मानिसले जन्मसँगै लिएर आउने कुरा होइन । न त एक पटक कमाएपछि सँधै रहिरहने कुरा हो । त्यसैले, धनाढ्य व्यक्तिहरु सँधै आफूसँग भएको धन गुम्ने डरमा हुन्छन् । उक्त धनको सुरक्षाका लागि पनि उनीहरु धनकी देवी लक्ष्मीलाई खुसी पार्न कुनै कसर बाँकी राख्दैनन् ।
यतिबेला विश्व नै लक्ष्मी अर्थात पैसाको पछि दौडिरहेको छ । पैसा कमाउनु नै हरेक मान्छेको अन्तिम उद्देश्यजस्तै भएको छ । पैसा कमाउन मान्छेले वर्षभरि नै हरेक किसिमका दुःख र चुनौति झेलिरहेको हुन्छ । तर लक्ष्मी पुजाको अवसरमा एक दिन पैसाको पूजा गरेर पैसा आर्जन हुन्छ भन्नु मुर्खताजस्तै हो । धार्मिक मान्यताअनुसार त्यसलाई निरन्तरता दिनु नराम्रो होइन । तर, भगवान्लाई मैलेभन्दा बढी खुसी त्यसले पार्ला कि ? भन्ने डरमा प्रतिष्पर्धात्मक तवरले भोली आईलाएर जाने फूलमालामा लाखौँको खर्च गर्नु बुद्धिमानी काम भने होइन ।



