हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता एनसेलको एनसेल प्रकरणमा राष्ट्र बैंक मुछियो । यस विषयमा भिन्न मतहरु आए । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
एनसेल लाभांश प्रकरणमा राष्ट्र बैंक
एनसेललाई लाभांश विदेश लैजाने अनुमति दिएपनि राष्ट्र बैंकमाथि प्रश्न उठ्यो । यस विषयमा प्रष्ट पार्न राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्यो । कानुनी आधारबाट नै एनसेललाई लाभांश लैजाने अनुमति दिएको भनि राष्ट्र बैंकले स्पष्ट पार्यो । तरपनि, यो विषयमाथि अझै खोज भइरहेकोछ । अख्तियारले नै यस विषयमा छानविन गरिरहेको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकको पुँजीवृद्धि योजना
यो साता विदेशी लगानीमा रहेको स्टान्डर्ड चार्टर्ड बैंक नेपालले पुँजी वृद्धिको योजना सार्वजनि गर्यो । बैंकले पुँजी वृद्धिको योजना आफ्नो वेभसाइटमा पोष्ट गर्दै तीन अर्ब ३० करोड रुपैयाँको एफपिओ जारी गर्ने जानकारी गरायो ।
प्रोफेशनल दियालोलाई लक्ष्मी बैंकले किन्ने
लक्ष्मी बैंकको आइतबार सम्पन्न विशेष साधारण सभाले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरी सम्झौतापत्रको अनुमोदन गर्यो ।
सेयर बजार
विहीबार एकै दिन ६ वटा ब्रोकर कम्पनी एक साताका लागि निलम्बनमा परे । वार्षिक वित्तीय विवरण नबुझाएको भन्दै धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले प्रिमियर सेक्युरिटिज (३२), मार्केट सेक्युरिटिज (५), अरुण सेक्युरिटिज (३), जे.एफ. सेक्युरिटिज (७), सुमेरु सेक्युरिटिज (३९) र सुन्धारा सेक्युरिटिज (५२)लाई निलम्बन गरेको हो । भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेन्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर कारोबार विहीबारदेखि खुल्यो । विहिबारैदेखि अरुण फाइनान्सको सेयर कारोबार पनि खुल्यो । ग्लोबल आईएमई क्यापिटलले साधारण शेयर आबेदन गर्दा शेयर नपरेका लगानीकर्ताको पैसा उनीहरुको बैंक खातामा नै पठाउन सुरु गर्यो । इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स (आईएलएफसी) लाई खरिद गरेको सिभिल बैंकको सेयर कारोबार मंगलबारदेखि खुल्यो ।
हकप्रद सेयर निष्काशन
नेपाल बंगलादेश बैंकको सोमबार सम्पन्न २२ औँ वार्षिक साधारणसभाले सञ्चालक समितिद्धारा प्रस्तावित ३२ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर पारित गर्यो । साताको विहीबारदेखि सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गर्यो । तिनाउ विकास बैंकको सोमबार सम्पन्न दशौँ वार्षिका साधारणसभाले २५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबाट ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्यो । अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सर्वसाधारण सेयरधनीका लागि नौ करोड २८ लाख १९ हजार ३४ रुपैयाँ बराबरको हकप्रद सेयरका लागि सोमबारदेखि आवेदन खुला गर्यो ।
बोनस सेयर
कैलाश विकास बैंक लिमिटेडले २५ प्रतिशत बोनस सेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्विकृती पायो । सिन्धु विकास बैंकले पनि १६.८ प्रतिशत बोनस सेयर जारी गर्नका लागि राष्ट्र बैंकको अनुमति पायो । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले २७ प्रतिशत बोनस सेयर र मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर जारी गर्न राष्ट्र बैंकको स्विकृती पाए । तिनाउ विकास बैंकको सोमबार सम्पन्न दशौँ वार्षिका साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्यो ।
आईपीओ निष्काशन
अरुण काबेली पावर लिमिटेडले ३० करोड रुपैंया बराबरको ३० लाख कित्ता साधारण शेयर मंगलबारदेखि निष्काशन गरियो ।
शाखा, सेवा तथा प्रविधि विस्तार
मनाङ, रुकुम र अछाममा ३ शाखा र १५ शाखारहित बैंकिङ सेवा विस्तार गर्न प्रभु बैंक र यूकेएड सक्षमबीच विहिबार साझेदारी भयो । साताको बुधबारदेखि लक्ष्मी बैंकले नवलपरासीको रजहर र उदयपुरको गाईघाटमा आफ्नो दुई नयाँ शाखा सञ्चालनमा ल्यायो । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना पहिलो शाखा नुवाकोटको देवीघाटमा शुभारम्भ गर्यो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीको वर्दिवास नगरपालिका २ मा रहेको शाखालाई वर्दिवास नगरपालिका १ मा बुधबार स्थानान्तरण गर्यो । एनआईसी एशिया बैंकले मोरङ जिल्लाको पुष्पलाल चोक र उर्लाबारीमा दुई नयाँ शाखाहरु विस्तार गर्यो । स्याङ्गजा जिल्लास्थित चापाकोट नगरपालिकामा कृषि विकास बैंक लि.ले आफ्नो नयाँ शाखाको औपचारिक उद्घाटन गर्यो ।
एनएमबि बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि बिच रेमिट्यान्स सम्झौता सम्पन्न भयो । प्रभु मनि ट्रान्स्फर प्रा.लि र रामारोशन माइक्रोफाइनान्स वित्तिय सस्था लि. बिच पनि रेमिट्यान्स सम्झौता समपन्न भयो । त्यस्तै, बुम रेमिट्यान्स प्रा.लि र सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड बिच पनि रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ ।
माछापुच्छ्रे बैंकले भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्यायो । ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंकले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्यायो ।
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले विहीबार २५० करोड रुपैयाँ बराबरको र सोमबार १५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्यो । त्यस्तै, बुधबार राष्ट्र बैंकले ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गर्यो । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) को प्रतिनिधिमण्डलले गभर्नर डा. चिरंजीबि नेपालसँग सोमबार भेटवार्ता गर्यो ।
अन्य
विहीबार २०७३ सालको महान चाड विजयादशमी, शुभदिपावली, नेपाल सम्वत ११३७, छठ, ल्होसार, इद, उभौली, उधौली, चासोकतङनाम लगायत नेपालीहरुको सम्पूर्ण राष्ट्रिय चाडपर्वको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी संगठनहरुले संयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरे । साताको आइतबार आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गर्यो ।


