उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्र बैंकले कानुनी प्रक्रिया पूरा गरेर नै एनसेलको लाभांश विदेश लैजान अनुमति दिएको बताएका छन् । उनले राष्ट्र बैंकको निर्णय नियमसंगत भएको उल्लेख गरेका छन् । कुनै कम्पनीले लगानी गरेर नाफा कमाई सकेपछि उक्त रकम लैजान पाउनुपर्ने र यो नियमित प्रक्रिया भएको उनको भनाई छ । स्वामित्व हस्तान्तरणमा पुँजीगत लाभकर सम्बन्धी विषयलाई लिएर एनसेल विवादमा परेको थियो । यस अघि नेपाल राष्ट्र बैंकले लाभकर र लाभांस फरक कुरा भएको बताएको थियो । अर्थमन्त्री महराले पनि राष्ट्र बैंकले गरेको कार्य नियमित प्रकृया भएको बताए । राष्ट्र बैंकले पुँजीगत लाभकर सम्बन्धी विवाद आर्थिक वर्ष २०७२/७३ मा देखिएको र अहिले स्विकृत भएको लाभांश आर्थिक वर्ष २०६८/६९ को रहेको बताएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंक, दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतसँग कानुनि प्रकृया र वास्तविकताबारे अनुसन्धान गरीरहेको छ ।


