२०७३ कार्तिक ९ गते

आन्दोलनको सिकार बन्यो नेपाल बैंक लिमिटेड

nepal bankनेपालको बैंकिङ इतिहास रचेको नेपाल बैंक पछिल्लो समय आन्दोलनको सिकार बन्दै गइरहेको छ । बैंकमा हाल नेपाल बैङ्क राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल बैंक कर्मचारी संघ, वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल बैङ्क कर्मचारी युनियन गरी पाँच युनियन क्रियाशील छन् । सरकारी स्वामित्वमै रहेको नेपाल बैंकमा कार्यरत संगठित कर्मचारीहरुले बेलाबेला बैंकलाई नै अप्ठेरो पर्ने गरी आन्दोलन चर्काउने गरेका छन् । 

अहिले पनि पूर्वसहमतिको कार्यान्वयन नभएको बन्दै नेपाल बैंकका कर्मचारीहरु आन्दोलनरत छन् । २ बुँदे माग : १. ग्रेड प्रणाली सम्बन्धी र २. पूर्वसहमती कार्यान्वयनको माग राखेर उनीहरु गत भदौ १४ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् । अहिले शान्तिपूर्ण वार्तामा रहेको र माग पूरा नभए पुनः आन्दोलन चर्काउने नेपाल बैंक कर्मचारी संघका अध्यक्ष हिमाल कुमार कपालीले बताए । उनले बैंकिङ खबरसँग भने, ‘हामीले शान्तिवार्ता चहेका छौँ । हाम्रो आन्दोलनलाई कमजोर नठान्न आग्रह गछौँ । हामी सैद्धान्तिक लडाई लडेका छौँ । यदि फेरी आन्दोलन गर्नुपर्याे भने सबै बैंकलाई समेत प्रभाब पर्ने गरी गर्ने छौँ ।’

बैंक व्यवस्थापन टीम र अर्थमन्त्रालय समेतलाई दबाब दिनका लागि आफूहरु आन्दोलनमा उत्रिएको नेपाल वित्तीय संस्था कर्मचारी संघका उपाध्यक्ष राजन रिमालले बताए । उनका अनुसार, २०७० सालमा कर्मचारी र व्यवस्थापनबीच करारमा रहेका कर्मचारीलाई अवकाससहितको सेवासुविधा प्रदान गर्ने, कर्मचारीको उपदान वृद्धि गर्ने, कर्मचारीको शिशु स्याहार भत्ता मासिक एक हजार रुपैयाँ प्रदान गर्ने, कर्मचारीको  पोसाक भत्ता वार्षिक चार हजार रुपैयाँले वृद्धि गर्ने लगायतका सम्झौता भएको थियो । यही सम्झौतालाई कार्यान्वयनमा ल्याउने आफूहरुको माग रहेको उनले बताए । ‘यदि यो माग पुरा नगरेमा छठपछि हामी आन्दोलनमा जान्छौँ,’ उनले भने ।    

कार्यान्वयनको पहल हुँदैछ : सीईओ

बैंकका सीईओ देबेन्द्र प्रताप शाहले यो मागलाई व्यवस्थापन टीमले सम्बन्धि ठाउँमा पुर्याइसकेको र आफूहरु यस विषयमा सकारात्मक रहेको बताएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले भने, ‘उहाँहरुको आन्दोलनको माग ग्रेड समायोजन सम्बन्धि हो । हाम्रो तर्फबाट हुने पहल त भईसकेको छ । अर्थ मन्त्रालयकै निर्णयको पर्खाईमा हो हामी पनि ।’

नेपाल बैंकमा विगतका आन्दोलन
नेपाल बैंकमा यसअघि पनि थुप्रै कर्मचारी आन्दोलन भएका छन् । नेपाल बैंकको सुरुवातको समयमा नै तत्कालीन दश जना कर्मचारीहरू निलम्बन गरेपछि व्यवस्थापनको कार्य मानव अधिकार तथा ट्रेड यूनियन अधिकारको खिलाप रहेको भन्दै कर्मचारीहरुले आन्दोलन गरेका थिए । उक्त कर्मचारी आन्दोलनले नेपाल बैंक लिमिटेडलाई निकै असर पुर्याएको थियो । यस बैंकका कर्मचारी अघिल्लो वर्षको साउनमा पनि आवश्यक सेवा सुविधा कम भएको भन्दै आन्दोलित भएका थिए । २०७० सालमा विभिन्न पाँच बुँदे माग राखेका कर्मचारीहरुको मागको बैंक व्यवस्थापन पक्षले सुनुवाई नगरेको भन्दै आन्दोलित भएका थिए ।