अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सर्वसाधारण सेयरधनीका लागि नौ करोड २८ लाख १९ हजार ३४ रुपैयाँ बराबरको हकप्रद सेयरका लागि आवेदन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका नौ लाख २८ हजार एक सय ९० कित्ता हकप्रद सेयर सोमबारदेखि खुला गरेको हो ।
गत असोज २७ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । १० कित्ता सेयर हुने सेयरधनीले ३.६ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्रिको प्रबन्ध सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ । सिद्धार्थ क्यापिटल लिमिटेड (अनामनगर), सिद्धार्थ बैंकका देशभरिका शाखा र अरनिको डेभलपमेन्ट बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरुमा हकप्रद भर्न पाइनेछ । हकप्रद निष्काशन आगामी मंसिर १२ गतेसम्म खुला रहनेछ ।
हाल अरनिको डेभलपमेन्ट बैंकको चुक्तापुँजी २५ करोड ७८ लाख ३० हजार छ सय ५० रुपैयाँ रहेको छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी ३६ करोड नाघ्नेछ ।



