
बैंकिङ खबर/ विश्वका तेस्रो तथा एशियाका सबैभन्दा धनी व्यक्ति गौतम अडानी संसारको २५ धनी व्यक्तिहरूको सूचीबाट बाहिरिएका छन्। बुधबारसम्म उनको कूल सम्पति घटेर ४५ अर्ब अमेरिकी डलर भन्दा कम भएको छ ।
उनी फोर्ब्स र ब्लूमबर्गको विश्व अर्बपतिहरूको सूचीमा क्रमशः छब्बिसौं र उनान्तीसौं स्थानमा झरेका छन् । गत जनवरी २४ मा अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्गले सार्वजनिक गरेको नकारात्मक प्रतिवेदनका कारण सुरू भएको अडानीको डाउनफल अझै रोकिने संकेत देखिएको छैन।
न्युयोर्कस्थित अनुसन्धान संस्थाले हिन्डेनबर्गले अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरे लगत्तै अडानीका स्वामित्वमा रहेका पब्लिक कम्पनीहरूको सेयरमा उल्लेख्य गिरावट आउन थालेको हो। परिणाम स्वरुप आज अडानी संसारका २५ धनी व्यक्तिहरूको सूचीबाट बाहिरिएका छन्।
फोर्ब्सको रियल–टाइम अर्बपतिहरूको सूचीका अनुसार उनको हालको कुल सम्पत्ति ४३.४ अर्ब रहेको छ। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार भने उनको कुल सम्पत्ति ४२.७ अर्ब डलर रहेको छ। अडानीलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो स्क्याम’ गरेको आरोप लगाउँदै हिन्डेनबर्गले जारी गरेको प्रतिवेदनका कारण अदानीले आफ्नो कूल सम्पत्तिमा ७५ अर्ब डलरभन्दा बढी गुमाएका छन्।
फोर्ब्स र ब्लुमबर्गका अनुसार कुनै समय विश्वको दोस्रो धनी व्यक्तिको रुपमा रहेका अडानीको सम्पत्ति बुधबारदेखि क्रमशः ३.२ अर्ब र ३.३९ अर्ब डलरले घटेको हो। सोमबार, अडानीको कुल सम्पत्ति धेरै वर्षपछि पहिलो पटक ५० अर्ब भन्दा कममा झरेको थियो।
फोर्ब्सको सूचीमा, अडानी समूहका संस्थापक अध्यक्ष गौतम अडानी नाइकीको फिल नाइट (४५.९ अर्ब डलर) पछि छन्।
अर्कोतर्फ ब्लूमबर्ग इन्डेक्सले उनलाई इटालीका जियोभानी फेरेरो (४ ४२.९ अर्ब डलर) र फ्रान्सका फ्रान्कोइस पिनाल्ट ( ४१.३ अर्ब डलर ) बीचमा स्थान दिएको छ। यसैबीच फ्रान्सका बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा छन्, त्यसपछि ट्विटर प्रमुख इलन मस्क रहेका छन्।
हिन्डनबर्गको प्रतिवेदन प्रकाशित भएदेखि अडानीको स्वामित्वमा रहेका कम्पनीहरूको समूहले बजार पूँजीमा करिब १४२ अर्ब डलर गुमाएका छन्।
साठी वर्षीय अडानीले स्टक हेरफेर र ट्याक्स हेभन्सको अनुचित प्रयोगको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएका छन् र खर्च पनि कटौती गरेका छन्। र उनले समूहको वित्तीय पहुँचको बारेमा चिन्तित व्यापारीहरूलाई शान्त पार्न ऋणहरू पनि चुक्ता गरेका छन्। बुधबार अडानी इन्टरप्राइजेजको शेयर १०.४ प्रतिशतले घटेको थियो भने अडानी पोर्ट्सको शेयर ६.२५ प्रतिशतले घटेको थियो।
(हिन्दुस्तानटाइम्सबाट)



