
बैंकिङ खबर/ गरिब तथा विपन्न वर्गका व्यक्तिलाई लक्षित गरेर स्थापना भएको लघुवित्तमाथि पछिल्लो समय चौतर्फी आक्रमण हुन थालेको छ । संसद भवन होस् वा राजनीतिक दल, सञ्चार माध्यम अथवा लघुवित्तविरुद्ध स्थापना भएका विभिन्न संघर्ष समिति नै किन नहुँन । यतिबेला उनीहरु लघुवित्तविरुद्ध जाइ लागेका छन् ।
केहि समय अघि संघर्ष समितिका नाममा खुलेको समितिले लघुवित्तविरुद्ध विभिन्न माग गर्दै आन्दोलन गर्यो । त्यसपछि लघुवित्त विरुद्ध संघर्ष समिति’लाई कारवाही गर्न गृहमन्त्रालयले नै निर्देशन दियो ।
हालै झापामा आयोजित कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंले भने, ‘अब लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने, भित्र पसे डाँका मुद्दा लागिहाल्छ,’ उनले भीडलाई उचाल्दै भनेका थिए, ‘मोसो दल्दा केही समस्या पर्दैन । जम्मा ५ दिन लगेर हिरासतमा राख्छ ।’
लुघवित्तविरुद्ध संसदमा पनि उठ्यो विषय

केहि दिन अघि बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारीले निम्नवर्गलाई ऋणको भारी बोकाएर रसातलमा पुर्याउने काम भएको बताइन् । सांसद गौतमले ऋण लिन बाध्यता रहेको अवस्थामा साहुकारले लाभ लिइरहेको बताइन् ।
लघुवित्त र सहकारीको ऋणबारे नियमन गर्न सांसद गौतमले सरकारसँग अनुरोध गरिन् । ’सुलभ कर्जा प्रवाह गरी निम्न वर्गीय मानिसलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको थियो । यसबाट केही हदसम्म वित्तीय कारोबार आममानिसको पहुँचमा पुगेको देख्न सकिन्छ । तर अत्यधिक मुनाफा आर्जनको निकृष्ट उद्देश्य राख्ने कतिपय लघुवित्त र सहकारी संस्थामार्फत निम्न वर्गीय मानिसलाई ऋणमाथि ऋण बोकाएर रसातलमै पुर्याउने काम भइरहेको छ,’ उनले भनिन् ।
देशको खस्कँदो अर्थतन्त्र, बेरोजगारी र महँगीका कारण आममानिस बढ्दो मात्रामा ऋण लिन बाध्य भएको भन्दै उनले त्यही बाध्यताको लाभ उठाउँदै साहूकारहरू घरघरमै गएर बिनाधितो ऋणको प्रलोभन देखाएर आर्थिक शोषण गरेका र कतिपय ऋणीले ऋणको तनाब सहन नसकेर आत्महत्या गरेका समाचार बारम्बार आइरहेको बताइन् । राष्ट्र बैंकले त्यस्ता लघुवित्त र सहकारीमाथि कारबाही गर्नुपर्ने सांसद गौतमको भनाइ थियो ।
लघुवित्तविरुद्ध सञ्चारमाध्यम

अहिले विभिन्न सञ्चारमाध्यमहरु लघुवित्तविरुद्ध लागेका छन् । हाल दिनहुँजसो नेपालका केही संचार माध्यम ( छापा तथा रेडियो र भिडियो) बाट लघुवित्त सम्बन्धमा लगातार जसो समाचार प्रेषण भइरहेको छ । त्यस्ता खबरहरुमा लघुवित्तले पारेको नकारात्मक प्रभाव भनेर जोडिएको समाचार मात्र प्रेषण गरिरहेका छन् । साथै राष्ट्रिय संचार माध्यमले समेत कुनै पुष्टि नगरी अत्याधिक ब्याज तथा सेवा शुल्क र चक्रवर्ति ब्याज लगेको समाचार समेत सम्प्रेषण गर्नसम्म भ्याएकाे ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा आवद्ध रहेका नारायण प्रसाद उपाध्याय बताउँछन् ।
लघुवित्त के हो ? किन छ यसको महत्व ?

नेपाल राष्ट्र बैंकले तोके बमोजिम ‘घ’ वर्गको इजाजतपत्र लिएर काम गरेका संस्थाहरु यस सूचिमा पर्दछन् । ‘घ’ वर्गका बैंकहरुलाई माइक्रोफाइनान्स तथा लघुवित्त वित्तीय संस्था भनिन्छ । लघुवित्तहरु ग्रामिण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमै पुगेर वित्तीय चेतनाको विकास गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने गर्दछन् ।
लघुवित्त विकास बैंकहरुबाट बिना धितो ऋण प्राप्त हुन्छ । लघुवित्त विकास बैंकहरुलाई कार्यक्षेत्रका आधारमा विभिन्न प्रकारमा छुट्याइएको छ । बंगलादेशबाट सुरु भएको लघुवित्तले ग्रामीण विकासमा विश्वव्यापी रुपमा नै ठूलो मद्दत पुर्याएको छ । लघुवित्तको महत्वलाई यसप्रकार उल्लेख गर्न सकिन्छ :-
लघुवित्तहरुले ठूलो रकमसम्म बिना धितो कर्जा प्रवाह गर्दछन् । बिना धितो दिइएको कर्जा शतप्रतिशत उक्सिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा सिद्धान्त नै हो । केहि सिद्धान्त पालना गरेर काम गरियो भने डुब्ने खतरा हुँदैन । हैन भने डुब्ने खतरा हुन्छ । जस्तो स्थानीय स्तरमा बसेका महिलाहरु, जसले एक अर्कालाई चिन्छन, जसको एक अर्कोसँग मन मिलेको छ । उनीहरु एक ठाउँमा बस्छन् र एउटाले अर्काको सामूहिक जिम्मेवारी लिन्छ । अर्थात सामूहिक जमानी बसिदिन्छ । त्यहि आधारमा लघुवित्तले कर्जा दिन्छ । भोलि ऋणीले दायाँ बायाँ गरेको अवस्थामा कर्जा असुलीमा सो समूहले सहयोग गर्छ ।
सामाजिक क्षेत्रमा योगदान
लघुवित्तहरुले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छन् । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहुना साथ ग्रामिण क्षेत्रको आर्थिक स्तर उकासिँदैन थियो ।
नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तकै योगदान रहेको छ । सन २००३ मा ४१ प्रतिशतभन्दा माथि रहेको गरिबी अहिले २० प्रतिशतभन्दा कममा झरेको छ । एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् ।
यसरी ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाहरुले गरिरहेको छ । लाखौँ नेपालीहरु लघुवित्त सेवाबाट लाभान्वित भइरहेका छन् । यसरी ग्रामीण एवम् विपन्न वर्गलाई उद्यमी बनाएर एवम् महिलाहरुलाई माथि उठाएर लघुवित्तले सहयोग पुर्याइरहेको छ ।
उद्यमशिलता विकास
बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर छन् । केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको छ । गरिबीबाट मुक्त हुन सकिएला र भन्ने चिन्तामा रहेका जनतालाई लघुवित्तले आफ्नै व्यवसायको मालिक र रोजगारदाता बनाएको छ ।
विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गर्ने वातावरण लघुवित्त संस्थाले बनाइदिएका छन् । तरकारीखेती, पशुपालन, घरेलु उद्योग लगायतका व्यवसायमार्फत जिवनस्तर उकास्ने मौका र हिम्मत लघुवित्त संस्थाहरुले प्रदान गरेका छन् ।
सरकारी स्तरमा संस्थागत रुपमा नेपाल राष्ट्र बैंक २०१२, सहकारी बैंक २०२० स्थापना गरी २०२५ मा कृषि विकास बैंकमा रुपान्तरण, २०२४ मा राष्ट्रिय वाणिज्य बैंक लि. स्थापना गरिएपछि यी संस्थाहरुबाट समेत लघुवित्तको प्रयास भएपनि नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकहरुका लागि ल्याइएको ‘प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम’ लाई पहिलो संस्थातग प्रयास गरेको मानिन्छ । तर पनि सो कार्यन्वयन नहुँदै कृषि विकास बैंकबाट २०३२ मा शुरु गरिएको ‘साना किसान विकास कार्यक्रम’ लाई नेपालमा लघुवित्तको पहिलो संस्थागत शुरुवात मानिन्छ ।
त्यस पश्चात वि.सं. २०३६ मा सघन बैंकिङ कार्यक्रम, वि.सं. २०३९ मा ग्रामीण महिलाका लागि उत्पादन कर्जा कार्यक्रम, वि. सं. २०४७ मा ग्रामीण स्वाबलम्बन कोष, वि.सं. २०४९ मा महिलाहरुका लागि लघूकर्जा कार्यक्रम ल्याइएपनि वि. सं. २०४९ मा निजी क्षेत्रबाट निर्धन परियोजना र सरकारी क्षेत्रबाट नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको संयुक्त पहलमा ग्रामीण विकास बैंकहरुको स्थापना पश्चात लघुवित्त कार्यक्रमहरु ब्यापक रुपमा संचालनमा आएका पाइन्छन् ।
सो पश्चात पनि नेपाल सरकारले गरिवी निवारण कोष, गरिवसँग विश्वेश्वर कार्यक्रम, तेस्रो पशु विकास आयोजना, पश्चिम तराई गरिवी निवारण आयोजना जस्ता कार्यक्रमहरु ल्याइएपनि नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको संचालन अनुमति बढाउँदै लगेपश्चात सयौंको संख्यामा संचालन अनुमति पाई कार्यक्रम संचालनमा गरिसकेका लघुवित्तहरु मर्जर पश्चात हाल ६०-६५ को हाराहारीमा संचालनमा रहेका छन् ।
पछिल्लो समय ०७९ असोज मसान्तसम्म नेपालको लघुवित्त उद्योगमा संचालित ६४ वटा संस्थाहरुले ७७ जिल्लामा ५०६८ शाखाहरु संचालन गरी ५९ लाख ३६ हजार सदस्यहरुलाई लगभग २३३७४ जना कर्मचारी मार्फत वित्तीय सेवा पुर्याइरहेका छन् । जसमा ३३ लाख ११ हजार व्यक्तिलाई ४ खर्ब ५७ अर्ब १८ करोड ६३ लाख कर्जा लगानी गरेका छन् ।
जुन रकम जुटाउन शेयर धनिहरुबाट शेयर वापत ३० अर्ब ३५ करोड २० लाख र ऋणबाट २ खर्ब ३५ अर्ब ३५ करोड २ लाख संकलन गरेको देखिन्छ भने बाँकी रकम जुटाउन सेवा उपभोग ब्यक्तिहरु बाट ग्रामीण क्षेत्रमा रहेको रु. १ खर्ब ६४ अर्ब १९ करोड बचत बापत संकलन गरी उत्पादक क्षेत्रमा परिचालन गरिएको पाइन्छ ।
लघुवित्तले फेरिएकाे जीवन
लघुवित्तले नेपालमा धेरैको जनजीवन नै परिवर्तन गरेको छ । लघुवित्तबाटै धेरै नागरिक उद्यमी बनेका छन् । देशमा रोजगारी सिर्जनमा पनि लघुवित्तको महत्वपूर्ण योगदान रहेको छ ।
देशमा रोजगारी सिर्जनमा पनि लघुवित्तको महत्वपूर्ण योगदान रहेको छ । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्याउन सहयोग गर्दै आएको छ ।
संसारमा २ थरीका जनसमुदाय हुन्छन् । एकथरी वित्तीय सेवा लिन आफैँ सक्षम जोसँग ज्ञान हुन्छ, सीप हुन्छ, कर्जा धितोका लागि सम्पत्ति हुन्छ र व्यवसाय गर्ने व्यवसायिक क्षमता पनि हुन्छ । बैङ्क तथा वित्तीय संस्थासँग सजिलै पहुँच हुन्छ । बैंक पनि त्यस्ता वर्गलाई सजिलै पत्याउँछन् । त्यस्ता व्यक्तिको प्रत्यक्ष रुपमा बैंकिङ पहुँच हुन्छ । अर्कोथरी जो वित्तीय सेवा लिन आफैँ सक्षम हुँदैन, ज्ञान, सीप पनि हुँदैन, कर्जा लिन धितोका लागि प्रसस्त सम्पत्ति पनि हुँदैन, पिछडिएका तथा वित्तीय पहुँच नभएका स्थानमा बस्छन् ।
बैंक तथा वित्तीय संस्थासँग सहज पहुँच पनि हुँदैन । त्यस्ता वर्गलाई बैंकले विश्वास पनि गर्दैैन । त्यो वर्गलाई गैरबैंक पहुँच भएका जनता भनिन्छ । लघुवित्त दोस्रो वर्गको जनसमुदायलाई वित्तीय पहुँच मार्फत् लघुवित्त सेवा प्रदान गर्ने हो । लघुवित्त संस्थाले त्यस्तै वर्गलाई आधार मानेर आफ्नो वित्तीय सेवा दिने हो । बैंक तथा वित्तीय संस्था समक्ष पहुँच नभएका जनसमुदायलाई वित्तीय सेवा प्रदान गर्नु नै लघुवित्त वित्तीय संस्थाको काम हो ।
समाजले त एकछाक मासुका लागि पनि पत्याएन कर्जा । महिला, त्यसमाथि विपन्न वर्ग । शिक्षा पनि छैन तालिम पनि छैन । तर हिम्मतले बनायो सबैजनाले तारिफ गर्ने पात्र । उनको नाम हो आशा कुमारी चौधरी । सुनसरी जिल्लाको गढी गाउँपालिका । यसै ठाउँमा उनको कर्म हेर्न धेरै मानिसको लस्कर लाग्छ । उनले उत्पादन गरेको तरकारी किन्नका लागि समय पर्खनेहरु पनि उत्तिकै भेटिन्छन् यहाँ । पैसा भएर होइन, अरु कसैले गरेको देखेर पनि होइन । न त कसैले होसला नै दिएर हो । हो त केवल कर्मको बाटो रोजेर । काम गर्ने अठोट बोकेपछि मेरो माइक्रोफाइनान्सले आशा कुमारीलाई विश्वास गर्यो ।
अनि सुरु भयो कर्जाबाट उनको व्यबसाय । उनले आफूजस्तै अरु महिलालाई समुहमा ढालीन् अनि सुरु गरिन् एउटा व्यबसायीक कार्य । २७ जनाको समुहले रोजगारी पाएका छन् यहाँ । अहिले आफ्नै कर्मबाट आफै दंग छिन् आशा कुमारी चौधरी । आफ्नै पौरखबाट जोडिएका छन् कृषिजन्य औजारहरु, ट्याक्टरहरु । एकजनको भागमा बार्षिक करिव ५ लाख रुपैयाँ हात पर्नेगरी पाएको सफलताले भनिरहेको छ – संगठीत भएर काम गर्न सके पैसासँगै खुसी बटुल्न कहीँपनि जानु पर्दैन ।
बैंक तथा वित्तीय संस्थामाथि नै आक्रमण होः प्रकाशराज शर्मा
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा केही गलत मनसाय बोकेकाहरुले ऋण नतिर्ने प्रपञ्च गरेरै आन्दोलनमा उत्रिएका बताउँछन् ।
उनी भन्छन्, ‘यो भनेको बैंक तथा वित्तीय संस्थामाथि नै आक्रमण हो । लघुवित्त वित्तीय सिस्टमको अंग भइरकोे छ । चौतर्फी दोष लगाएर लघुवित्तमाथि आक्रमण भइरहेको छ । अन्य कारणले आत्महत्या गरेपनि त्यसको दोष लघुवित्तमाथि लगाइएको छ । खराब नियतले लघुवित्तमाथि आक्रमण लगाउनु दुर्भाग्य पूर्ण छ ।’ उनले वित्तीय पहुँच र महिला सशक्तिकरणमा लघुवित्तले खेलेको भूमिकालाई विर्सन नहुने बताए ।
३०औं वर्षदेखि दिएको योगदान नजर अन्दाज गर्नु हुँदैनः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपाल केहि छिटफुट रुपमा लघुवित्तले गल्ति गरेपनि सबै लघुवित्तलाई एकै नजरमा हेर्न नहुने बताउँछन् । लघुवित्तका कर्मचारीहरुले ऋणीसँग सम्मानजनक र व्यावसायिक व्यवहार गर्नुपर्ने उनको भनाइ छ । लघुवित्तले ३०औं वर्षदेखि दिएको योगदान नजर अन्दाज गरेर एकै पटक लघुवित्त बन्द हुने कुरा नहुने उनको भनाइ छ । साथै लघुवित्तमा केही सेयरका खेलाडी आएर यस क्षेत्रलाई बिगार्न खोजेको पनि बताए । उनले कुनै लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी दिन आग्रह समेत गरे ।
मिटरब्याजीका सोधखोर वा साहु माहाजनको कनेक्सन कारण समस्यामा भएका लघुवित्तका ऋणीले भने ऋण मिनाहा हुन्छ भनेर गलत हुने कार्यकारी निर्देशक नेपालले बताए । तर, धेरै भड्किएर अरुको उक्साहटमा लघुवित्तबाट लिएको ऋण मिनाहा हुन्छ भन्ने सोच्नु गलत हुने नेपालको भनाइ छ।
‘त्यसपछि वास्तविक ऋणीलाई ‘लोन लस प्रोभिजन’ र संस्थागत सामाजिक उत्तरदायित्व ‘सिएसआर’ मिलाएर समस्यालाई समाधान गर्न सक्छौँ’, उनले भने, ‘धेरै भड्किएर, अरुको अक्साहटमा लागेर कुनै ऋणीले लघुवित्तबाट लिएको ऋण मिनाहा हुन्छ भनेर सोचिरहेको छ भने त्यो गलत हो।’ उनले वास्तविक समस्यामा परेका ऋणीको वर्गीकरण गरेर सहयोग गर्ने बताए। लघुवित्तका वास्तविक समस्यामा परेका ऋणीलाई केस्रा केस्रा पारेर सम्बन्धित संस्थाले एक महिनाभित्र शाखा पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको उनको भनाइ छ।
