२०७९ माघ २५ गते

आरबीआईले बढायो ब्याजदर

बैंकिङ खबर/भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदर बढाएको छ । आरबीआईले रिपो दर २५ आधार विन्दु वा ०.२५ प्रतिशत बढाएको हो । यसपछि सबै प्रकारका ऋण महँगो हुनेछन्। देशमा मुद्रास्फीति नियन्त्रणमा आएपछि पनि आरबीआईले ब्याजदर बढाउने निर्णय गरेको हो।

भारतमा मुद्रास्फीति दर घटेपछि पनि रिजर्भ बैंकले लगातार छैटौंपटक नीतिगत दर (रिपो रेट) बढाएको घोषणा गरेको छ । योसँगै रिपो दर ६.२५ प्रतिशतबाट बढेर ६.५० प्रतिशत पुगेको छ ।

आरबीआई गभर्नर शक्तिकान्त दासले बुधबार तीन दिने एमपीसी बैठकमा भएका निर्णयहरु घोषणा गरेका छन् । विज्ञहरुले पहिले नै रिपो दरलाई २५ आधार बिन्दुले बढाउने सम्भावना देखाउँदै थिए ।

यसअघि गत डिसेम्बरमा भएको एपीसी बैठकमा ब्याजदर ५.९० प्रतिशतबाट ६.२५ प्रतिशतमा बढाइएको थियो। आरबीआईले गत वर्षदेखि ६ पटक रिपो दर बढाएको छ। कुल २.५० प्रतिशतले ब्याजदर बढेको छ ।