शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत दरमा ऋण उपलब्ध गराउने विषयलाई छिटै नै कार्यान्वयनमा ल्याइने भएको छ । शिक्षा मन्त्रालयले अबको तीन महीनाभित्रमा नै उक्त विषयलाई कार्यान्वयनमा लयाउने तयारी थालेको हो । शिक्षा मन्त्रालयद्वारा हालै सार्वजनिक चालू आर्थिक वर्षको १९ बुँदे कार्ययोजनामा शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत दरमा ऋण उपलब्ध गराउन तीन महिनाभित्रमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याउने उल्लेख छ ।
अघिल्लो सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिने विषयलाई उठाएको थियो । सोही विषयलाई कार्ययोजनामा जोड दिइएको छ । कार्ययोजनाअनुसार भूकम्पबाट क्षति भएका संस्थागत विद्यालयका शैक्षिक संरचनाहरूको पुनर्निर्माणका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन आवश्यक पहल गरिने र संस्थागत विद्यालयको प्रभावकारी नियमनमा जोड दिइनेछ ।



