Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राजनीतिक संरक्षणमा हुण्डी कारोबार : छानवीन गर्ने एसपीमाथि स्पष्टिकरण

२०७३ कार्तिक २ गते

rajubabu-shresthaहुन्डी कारोबारीमाथि आफू अनुकूल प्रहरीले मुद्दा नचलाएपछि आक्रोशित बनेका केही व्यवसायीको दबाबमा पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ गृहमन्त्रालय तानिएका छन् । स्रोतका अनुसार मन्त्रालयको दबाबमा प्रहरीको केन्द्रीय कार्यालयबाट आइतबार आएको पत्रमा मन्त्रालयमा ब्रिफिङका लागि एसपी श्रेष्ठलाई उपस्थित हुन भनिएको छ । सम्बद्ध स्रोतका अनुसार गृहमन्त्री बिमलेन्द्र निधिका निकट मानिएका पूर्व सभासद तथा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माको सक्रियतामा एसपीलाई मन्त्रालय झिकाइएको हो । एसपी श्रेष्ठ प्रहरी प्रधान कार्यालयबाट बोलाएपछि सोमबार अपराह्न काठमाडौँ आइपुगेका छन् । 

गत असोज १६ गते विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज उपमहानगरपालिका–७ रेशमकोठी स्थित सन्तोष जैनको घरबाट ठूलो रकम सहित हुन्डी कारोबारमा संलग्न रहेका व्यापारी सन्तोष जैन, उनका छोरा अंकुर जैन, श्रीमति उषा जैन सहित ५ जनालाई पक्राउ गरेको थियो । वीरगन्ज र आसपासका क्षेत्रबाट संकलित रकम भारतको विभिन्न सहरमा विगत लामो समयदेखि गैर बैंकिङ प्रक्रियाबाट पठाउँदै आएको सूचनाको आधारमा प्रहरीले छापामारी ८१ लाख ४ हजार रुपैयाँ नगद, एक करोड ३२ लाख ७८ हजार रुपैयाँको विभिन्न बैंकको २४ थान चेक, रुपैयाँ गन्ने मेसिन बरामद गरेको थियो । ६ थान मोबाइल र भारतीय मोबाइल कम्पनी एयरटेलको एन्टेना घरमा जडान भएको फेला परेको थियो । दसैंको बेला अदालत बन्द भएकाले प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको थियो । गत आइतबार अदालतले पक्राउ परेको दिनदेखिको प्रहरीलाई २० दिनको म्याद दिएको छ । प्रहरीले बैंक तथा बित्तीय संस्था ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

बाबु र छोरा दोषी भएपनि प्रहरीले अनाहकमा चाड पर्वको बेला महिलालाई थुनेको भन्दै त्यहाँका उद्योगी–व्यवसायीले गुनासो गर्दै आएका थिए । पक्राउ परेका सन्तोष र अंकुरले बरामद रकम न्यु नेहा ओभरसीजको नाममा दर्ता रहेको फर्मको कारोबारको रहेको बताएका थिए । उक्त फर्म उषाको नाममा दर्ता रहेको देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताउँदै आएको छ । उक्त फर्मले वाणिज्य विभागबाट लिएको प्रमाणपत्रमा सुर्तीजन्य वस्तु, निर्माण सामाग्री, खाद्य सामाग्री, सुन चाँदीको गरगहना तथा सजावटका सामानको कारोबार गर्ने उल्लेख छ ।