मितेरी डेभलपमेण्ट बैंकले सोमबारदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । लगानीकर्तालाई ३० प्रतिशत बोनस प्रस्ताव गरेको बैंकले एक सय रुपैयाँ अंकित दरका १० लाख ५६ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
बैंकको हकप्रद शेयर मंसिर ५ गतेसम्ममा भरिसक्नु पर्ने छ । गत असोज ५ गतेसम्म शेयर किनेका लगानीकर्ताले मात्र बैंकको हकप्रदका लागि आवेदन दिन पाउने छन् । धरानमा मुख्य कार्यालय रहेको बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकको हकप्रद शेयरको आवेदन प्रभु क्यापिटल, कमलादी, मितेरी डेभलपमेण्ट बैंकको मुख्य कार्यालय धरान तथा सबै शाखामा बुझाउन सकिनेछ ।
२१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३१ करोड ६८ लाख रुपैंया नाघ्नेछ भने प्रस्तावित बोनस समेत वितरण गरे पछि पूँजी ३८ करोड रुपैंया बढी हुनेछ ।


