गत आर्थिक वर्षमा बैंकहरुले वार्षिक मुनाफामा ४९ प्रतिशत वृद्धि हासिल गरेका छन् । भूकम्प, तराई आन्दोलन र नाकाबन्दीको असर राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष देखिए पनि बैंकहरुको नाफा उल्लेख्य रुपमा बढेको पाइएको हो । गत वर्ष मात्रै एक अर्बमाथि नाफा कमाउने बैंकहरुको सूचीमा नौ वटा बैंक थपिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७१।०७२ अर्बमाथि नाफा कमाउने बैंकको सूचीमा दश वटा बैंकमा रहेकोमा गत वर्ष आठ बैंक थपिएर १८ पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०७१।०७२ मा नेपाल बैंक, नबिल, राष्ट्रिय वाणिज्य, कृषि विकास, नेपाल इन्भेस्टमेन्ट, हिमालयन, नेपाल एसबीआई, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र प्रभु बैंकले अर्बभन्दा बढी नाफा कमाएकोमा गत वर्ष सो सूचीमा ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, एनबी बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंकले अर्बमाथि नाफा गरेका हुन् ।
गत आर्थिक वर्षमा सरकारी स्वामित्वका तीन र निजी क्षेत्रका दुई बैंकले दुई अर्बभन्दा बढी नाफा कमाएका छन् । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड गएको वर्षमा सबैभन्दा बढी तीन अर्ब एक करोड रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । निजी क्षेत्रको नविल बैंकले दुई अर्ब ८२ करोड रुपैयाँ नाफा गरी निजी बैंकमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ । नेपालको बंैकिङ इतिहासमा नबिल बैंकले नै सम्भवत सन् २००९ मा पहिलो पटक अर्बभन्दा बढी नाफा कमाएको थियो ।
गत आर्थिक वर्षमा भूकम्प, तराई आन्दोलन, नाकाबन्दीलगायतका कारण अर्थतन्त्र प्रत्यक्ष रुपमा प्रभावित रहेपनि बैंकिङ क्षेत्रमा त्यसको खासै असर नदेखिएको बैंकको नाफामा आएको बढोत्तरीले प्रस्ट पार्छ । नाकाबन्दीको समयमा बैंकको व्यवसाय खुम्चिएको भएपनि नाकाबन्दी खुलेपछि बन्द भएका निर्माणाधीन आयोजना र विकास निर्माणका काम सुरु हुन थालेसँगै बैंकमा कर्जाको माग बढ्यो । यही कारण आर्थिक गतिविधि बढ्न गई बैंकको व्यवसाय करिब एक तिहाईले बढेको छ । अघिल्ला दुई त्रैमासमा सुस्त रहेको बैंकिङ कारोबार पछिल्ला दुई त्रैमासमा उच्च दरले बढेपछि बैंक उच्च मुनाफा गर्न सफल भएका हुन् ।
नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिका लागि बैंकहरुलाई दिएको निर्देशनका कारण पनि बैंकहरुले आफ्नो व्यवसाय विस्तारमा जोड दिए । यसले नाफा बढाउन बद्धत गर्यो । पुँजी बढाउनका लागि हकप्रद र वोनस सेयर निष्काशन, मर्जर तथा एक्विजिसन लगायतका उपकरणले बैंकहरुलाई सबल बनाउँदै लग्यो । फलतः बैंकहरुके व्यवसाय विस्तार हुन गई नाफामा पनि उच्च वृद्धि देखिएको हो ।



