भत्ता लिनका लागि गाविस वा नगरपालिकामा जम्मा हुने बृद्धबृद्धाको भीड अब बैंकमा देखिन थालेको छ । सरकारले सामाजिक सुरक्षाभत्ता बैंक खातामा दिने व्यवस्था गरेपछि बैंकमा खाता खोल्नेको चाप देखिन थालेको हो । अहिले दशैँ सुरु भएको छ । यो वृद्धवृद्धाहरुको भत्ता लिने बेला हो । त्यसैले, यतिबेला बैंकमा खाता खोल्न आउनेको चाप अघिपछिभन्दा बढी भएको बैंकरहरु बताउँछन् । विशेषतः ग्रामीण भेगका बैंकका शाखाहरुमा खाता खोल्न आउनेको चाप बढि छ । ग्रामीण भेगका गाविस तथा नगरपालिकाले सुरक्षाभत्ता बैंकिङ प्रणालीबाटै बाँड्ने भएपछि उनीहरु बाध्यतावश भएपनि बैंकमा खाता खोल्न थालेका छन् । सहरी क्षेत्रमा भने धेरैजसोले पहिले बैंक खाता खोलेको पाइन्छ ।
दैलेख जिल्लाको नारायण नगरपालिका कार्यालयले पहिलोपटक बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दैछ । दैलेख सदरमुकाममा रहेको एनएमबी बैंकमा सामाजिक सुरक्षा सेवाग्राहीहरूको खाता खोली भत्ता वितरण गर्ने तय भएको छ । त्यसैले, सदरमुकाममा रहेको बैंकमा बचत खाता खोल्न आह्वान गरिएको छ । यतिबेला दैलेख सदरमुकाममा रहेको एनबी बैंकको शाखा कार्यालयमा खाता खोल्नेको भीड छ । बैंकले पनि सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीका लागि निःशुल्क बचत खाता खोल्ने व्यवस्था गरेको छ । उक्त नगरपालिका कार्यालयबाट भत्ता थाप्नेमध्ये ९० प्रतिशतको खाता खोलिसकिएको बताइएको छ ।
संंघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनअनुसार नगरपालिकाका ९ वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीका लागि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको नारायण नगरपालीका कार्यालय दैलेखले जनाएको छ । कार्यालयका अनुसार, नगरपालिका क्षेत्रमा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरू ज्येष्ठ नागरिक ५१० जना, दलित ज्येष्ठ नागरिक २०४ जना, एकल महिला ३९६ जना, दलित वालवालिका ५६३ जना, पूर्ण अपांग २६ जना र अति अशक्त अपांग ८ जना गरी जम्मा १ हजार ७०८ जना रहेका छन ।
यसपालीको दशैँदेखि फिदिम नगरपालिकाले पनि सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीबाट वितरण गर्न सुरु गरेको छ । अहिले फिदिम नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिने एक हजार १५१ जना रहेका बताइएको छ । भत्ता लिनेजति सबैले सदरमुकाम फिदिममा रहेका सरकारी तथा व्यावसायिक दशवटा बैंकमा खाता खोलिसकेका छन् । नगरपालिकाले फिदिम नगरपालिका–१ का सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिका लागि फेवा विकास बैंक, वडा नं– २ का लागि राष्ट्रिय वाणिज्य बैंक, वडा नं – ३ का लागि एनएनबि वैंक, वडा नं– ४ का लागि माछापुच्छ्रे बैंक र वडा नं– ५ का लागि नेपाल बैंक लिमिटेडमा खाता खोल्ने व्यवस्था गरेको थियो । यसैगरी फिदिम नगरपालिका– ६ का लागि कृषि विकास बैंक, वडा नं– ७ का लागि सप्तकोसी बैंकमा, वडा नं– ८ का लागि एसविआई बैंक, वडा नं– ९ का लागि ग्लोबल आइएमई बैंक र वडा नं– १० र ११ का लागि सिभिल बैंकमा खाता खोल्ने व्यवस्था गरिएको थियो । बैंकमा आएर खाता खोल्न नसक्ने अतिअशक्त वृद्धवृद्धालाई भने नगरपालिका, वडा नागरिक मञ्च, सामाजिक परिचालिकासित आवश्यक छलफल गरेर पायक पर्ने स्थानमा बैंकका प्रतिनिधि गएर खाता खोल्ने व्यवस्था गरिएको थियो ।
गत वर्ष पनि सरकारले ‘क’ वर्गका वाणिज्य बैंकहरूसँग सम्झौता गरी विभिन्न जिल्लाहरुमा भत्ता वितरण थालेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार, गत वर्ष बाँके, बागलुङ र सुर्खेतमा सिटिजन्स बैंक इन्टरनेसनल तथा डडेलधुरा र कञ्चनपुरमा सिद्धार्थ बैंकले भत्ता बाँड्न सम्झौता गरेका थिए । सामाजिक सुरक्षाभत्ता गाविस र नगरपालिकाबाट बाँड्दा अनियमितता भएको भन्दै सरकारले सम्भव भएका ठाउँहरूमा बैंकबाट भत्ता बाँड्ने निर्णय गरेको थियो । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबाटमात्रै भत्ता बाँड्न मिल्ने व्यवस्थालाई संशोधन गरेर ‘क’ र ‘ख’ वर्गका वाणिज्य बैंकबाट पनि बाँड्न सकिने व्यवस्था गरिएको थियो । त्यसपछि गत वर्ष पञ्जीकरण विभाग गठन हुनुअघि मन्त्रालयले आधुनिक बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्ने भन्दै सिटिजन्स र सिद्धार्थ बैंकसँग सम्झौता गरेको थियो । अहिले, सबै सामाजिक सुरक्षाभत्ता बैंक खातामै दिइने व्यवस्था सरकारले गरेको छ ।
वृद्धवृद्धा, आदिवासी जनजाति, दलित बालबालिका, एकल महिला तथा अपांगलाई मासिक रूपमा बाँड्ने सामाजिक सुरक्षा भत्ताका लागिमात्रै सरकारले यो वर्ष १६ अर्व ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष यो बजेट १२ अर्ब ५० करोड रुपैयाँ थियो ।



