२०७३ आश्विन २१ गते

यस्ता छन्, साताभर चर्चामा रहेका बैंकिङ समाचारहरु

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो सातादेखि दशैँ सुरु भएको छ । दशैँ सुरु भएसँगै अर्थतन्त्र चलायमान भएका खबरहरु आईरहेका छन् । तरलता अभाव भएको भन्दै रिपो जारी गरेको राष्ट्र बैंकले यो साता तरलता बढेको भन्दै रिभर्स रिपो जारी गरेर तरलता खिच्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

नेपाल राष्ट्र बैंकको​ निर्देशन

  • नेपाल राष्ट्र बैंकले सरकारी राजश्व वुझ्ने बैंकहरु दसैं र तिहारको विदाका दिन (नवमी, दशमी र भाइटीकाबाहेक) पनि खोल्न निर्देशन दियो । 
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ एकीकृत निर्देशन २०७३ जारी गर्दै संस्थापकहरुलाई बैंक तथा बित्तीय संस्था छाडेर जान नपाउने गरी कडाई गरेको हो । लघुवित्त कम्पनी बाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको संस्थापक शेयर कारोबारका सम्बन्धमा राष्ट्र बैंक ऐन २०५८ अनुसार संस्थापकका बिचमा मात्र कम्पनीहरुको संस्थापक शेयर किनबेच वा नामसारी हुन सक्ने व्यवस्था गरिएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकका गतिविधि

  • विहिबार राष्ट्र बैंकले ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्यो । सोमबार पनि राष्ट्र बैंकले ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको थियो । 
  • बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको भन्दै केही सातादेखि तरलता पठाइरहेको राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ५ अर्ब बराबरको तरलता प्रशोचन गर्यो । यसै साताको आईतबार मात्रै बैंकिङ प्रणालीमा पाँच अर्ब तरलता पठाइएको थियो । 
  • भुटानको थिम्पुमा रेमिट्यान्स सम्बन्धि एक कार्यक्रममा भाग लिएर शनिबार मात्रै स्वदेश फर्किएका गभर्नर डा. चिरंजीबि नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा विश्व बैंकको संयुक्त आयोजनामा हुने वार्षिक मिटिङमा सहभागी हुन अमेरिका प्रस्थान गरे । 
  • साताको आइतबारदेखि राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटहीको व्यवस्था गर्यो । 
  • सोमबार राष्ट्र बैंक र बंगलादेशको केन्द्रीय बैंक बंगलादेश बैंकबीच सुपरिवेक्षकीय सूचना आदान– प्रदान गर्ने तथा बैंक सुपरिवेक्षणका क्षेत्रमा सम्बन्ध र सहयोग विस्तार गर्ने सम्बन्धि सम्झौता भयो ।

विद्युत् उत्पादन कम्पनीमा सर्वसाधारणको २९ प्रतिशत सेयर

  • बिहीवार बसेको मन्त्री परिषदको बैठकले विद्युत् उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना स्वीकृत गर्यो । बैठकले सर्वसाधारणको २९ प्रतिशत शेयर रहने गरि उक्त संरचना स्वीकृत गरेको हो । कुल चुक्ता पुँजी ३० करोड रहने कम्पनीमा तत्कालको लागि जारी पुँजी १० अर्ब र २० अर्ब अधिकृत पुँजी रहने जानकारी दिइएको छ । कम्पनीमा सर्वसाधारणको लागि १७ प्रतिशत, प्रभावित क्षेत्रका स्थानियको लागि १० प्रतिशत र अति विपन्न परिवारलाई २ प्रतिशत शेयर दिने प्रस्तावना राखिएको छ । कम्पनीमा उर्जा मन्त्रालयको २० प्रतिशत, अर्थ मन्त्रालयको पाँच प्रतिशत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच प्रतिशत शेयर रहेको छ । नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, नागरिक लगानी कोषको पाँच प्रतिशत, जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेडको चार प्रतिशत, नेपाल दूरसंचार कम्पनी लिमिटेडको १० प्रतिशत र राष्ट्रिय बिमा संस्थानको दुई प्रतिशत लगानी रहेको छ । 

मर्जर तथा एक्विजिसन

  • कुमारी बैंकले पुँजी वृद्धिका लागि चार वटा वित्तीय संस्था किन्ने सम्झौता गर्यो । कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।

नेप्से तथा धितोपत्र बोर्डका निर्देशन

  • नेप्सेले सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाही गर्ने जानकारी गरायो ।

 

प्रभु बैंकको सेयर कारोबार खुलेर बन्द

  • ग्राण्ड बैंकलाई खरिद गरेको १० महिनापछि सोमबार प्रभु बैंकको सेयर कारोबार खुल्यो । नेपाल राष्ट्र बैंकले ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलाइएको थियो । सोमबार र मंगलबार नेप्सेमा प्रभुको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्जले प्रभुको मात्र कारोबार खोल्दा सेयर मूल्य मिलानमा समस्या पर्ने भन्दै राष्ट्र बैंक र धितोपत्र बोर्डलाई समस्या समाधानका लागि आग्रह गरेको थियो । सोही आग्रहको सुनुवाई गर्दै बोर्डले प्रभुको कारोबार तत्कालका लागि रोक्का गर्न निर्देशन दिएपछि बुधबारदेखि पुनः प्रभुको कारोबार रोक्का गरियो ।

हकप्रद, बोनस तथा साधारण सेयर निष्काशन

  • जनता बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पायो । 
  • एनआइसी एसिया बैंकको १९ औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर दिने र बोनस शेयर वितरणपछि १५ प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पारित गर्यो ।  
  • युनिक फाइनान्स लिमिटेडको आइतबार सम्पन्न नवौँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको १६ प्रतिशत अर्थात तीन करोड ८१ लाख, ७७ हजार छ सय रुपैयाँ बराबरको बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्यो । 
  • हिमालयन बैंकले ७ बराबर १ कित्ताका दरले हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पायो ।
  • अरुण काबेली हाइड्रो पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति पायो । 

शाखा, सेवा तथा प्रविधि विस्तार

  • भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रालीबीच रेमिट्यान्स सम्झौता सम्पन्न भयो ।
  • एनएमबि म्युचुअल फन्डले बिहीबारदेखि इकाईधनीहरूको लाभांश बैंक खातामा जम्मा गरिदियो । 
  • सिद्धार्थ बैंकले पोखराको नयाँ सडकस्थित आफ्नो शाखा कार्यालयलाई साविकको शाखा कार्यालय भवनभन्दा करीब ५०० मिटर उत्तरतर्फ सेलवेज टावरमा स्थानान्तरण गर्यो । 
  • लक्ष्मी बैंकले बागलुङ्गमा आफ्नो नयाँ शाखा शुभारम्भ गर्यो । 
  • प्रभु बैंकले रामेछाप जिल्लाको मन्थली र रौतहट जिल्लाको चन्द«निगाहपुरमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्यायो । 
  • नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मर्चेन्ट बैक, ग्लोबल आइएमई क्यापीटल लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धि सम्झौतामा हस्ताक्षर गर्यो । 
  • बुम रेमिट्यान्स प्रा लिले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्टमा नियूक्त गर्यो । 
  • सिटिजन्स बैंक इन्टरनेशनल लि. को संथापकरसर्वसाधारण समुहको हकप्रद शेयर लिलाम बिक्रिको बाँडफाँटमा नपरेका शेयर वापतको रकम आवेदकको बैंक खातामा सोझै पठाइयो ।  
  • फेवा विकास बैकको कास्की जिल्लास्थित लेखनाथ नगरपालिकाको तालचोेक शाखाको औपचारिक आइतबार औपचारिक उद्घाटन गरियो ।

अनुदान, सम्मान तथा सहयोग

  • हिमालयन बैंकले मंगलबारसम्ममा पाँच हजार पाँच सय ६५ जना भूकम्प पिडितहरुलाई निजी आवास पुनःनिर्माण अनुदान वितरण गर्यो । 
  • कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला फोकस नेपालद्धारा आयोजित कार्यक्रममा उनी आर्थिक व्यवस्थापन तथा बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट योगदान गरेवापतबाणिज्य मन्त्री श्री रोमी गौचन थकाली सम्मानित भए ।