बिहीवार बसेको मन्त्री परिषदको बैठकले विद्युत् उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना स्वीकृत गरेको छ । बैठकले सर्वसाधारणको २९ प्रतिशत शेयर रहने गरि उक्त संरचना स्वीकृत गरेको हो ।
कुल चुक्ता पुँजी ३० करोड रहने कम्पनीमा तत्कालको लागि जारी पुँजी १० अर्ब र २० अर्ब अधिकृत पुँजी रहने जानकारी दिइएको छ । कम्पनीमा सर्वसाधारणको लागि १७ प्रतिशत, प्रभावित क्षेत्रका स्थानियको लागि १० प्रतिशत र अति विपन्न परिवारलाई २ प्रतिशत शेयर दिने प्रस्तावना राखिएको छ ।
कम्पनीमा उर्जा मन्त्रालयको २० प्रतिशत, अर्थ मन्त्रालयको पाँच प्रतिशत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच प्रतिशत शेयर रहेको छ । नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, नागरिक लगानी कोषको पाँच प्रतिशत, जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेडको चार प्रतिशत, नेपाल दूरसंचार कम्पनी लिमिटेडको १० प्रतिशत र राष्ट्रिय बिमा संस्थानको दुई प्रतिशत लगानी रहेको छ ।
कम्पनीले नलसिंङ गाड, बुढिगण्डकी, नौमुरे, सुनकोसी, कर्णाली चिसापानी जस्ता जलाशययुक्त आयोजना निर्माण गर्ने उद्देश्य लिएको छ ।



