गत चैत पहिलो साता नेपाल राष्ट्र बैंक र चीनको केन्द्रीय बैंक चाइना बैंकिङ रेगुलेटरी कमिशनका गभर्नरबीच नियमनसम्बन्धी सूचना आदानप्रदान गर्ने सम्झौता भयो । योसँगै दुई देशबीच एक अर्काका देशमा बैंकका शाखा स्थापना गर्न बाटो पनि खुल्यो । चिनियाँ केन्द्रीय बैंकसँगको सम्झौतासँगै चिनियाँ बैंक नेपालमा शाखा स्थापना गर्न इच्छुक भएको चर्चा फेरि पनि चुलियो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले पनि चिनियाँ बैंकहरु नेपालमा शाखा खोल्न इच्छुक रहेको सार्वजनिक वक्तव्य नै दिएका थिए । तर, त्यसयता कुनैपनि चिनियाँ बैंकले औपचारिकरुपमा कुरा उठाएका छैनन् । त्यसो त, नेपाल विश्व व्यापार संगठनमा प्रवेश गरेपछि नै विदेशी बैंकका शाखा खोल्न पाउने व्यवस्था खुल्ला भएको थियो । तर, दुई देशका केन्द्रीय बैंकबीच सूचना आदानप्रदान गर्ने सम्झौता नभएकाले शाखा खोल्न कठिन थियो । यद्यपि, उक्त सम्झौता भएको महिनौँ बितिसक्दा पनि कुनै विदेशी बैंकले शाखा खोल्न इच्छा देखाएका छैनन् । चिनियाँ बैंकले अनौपचारिक च्यानलमार्फत् नेपालमा शाखा खोल्न इच्छा देखाउँदै आएको भनिए पनि त्यससम्बन्धि खासै पहल भएको देखिँदैन ।
पटकपटकका असफल प्रयास
व्यवसायी डा. रुप ज्योतिले २०५३ सालतिर नेपालमा कोरियन हाना बैंकको शाखा स्थापना गर्ने प्रयास गरेका थिए । हाना बैंकले राष्ट्र बैंकलाई आफूले शाखा स्थापना गर्न चाहेको भन्दै औपचारिक पत्र पनि पठाएको थियो । तर, ज्योतिको प्रयास सफल भएन । त्यस्तै, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाहको इच्छामा ०५५ सालतिर चीनको बैंक अफ चाइनाको शाखा पनि भित्र्यायो उन खोजियो । त्यसबेला, बैंक अफ चाइनाले पनि शाखा स्थापना गर्न चाहेको पत्र पठाएको थियो । अन्ततः त्यो प्रयास पनि सफल भएन । त्यसपछि, कुनै पनि विदेशी बैंकले नेपालमा शाखा विस्तार गर्न औपचारिक रुपमा इच्छा व्यक्त गरेको पाइँदैन ।
कारोबारको आकार
नेपालमा शाखा खोल्न विदेशी बैंकहरु इच्छुक देखिए पनि यहाँको कारोबारको आकार देखेपछि फाइदाजनक नहुने निष्कर्ष निकाल्दै फर्किन्छन् । विदेशी बैंकले हाम्रो देशको वार्षिक बजेटभन्दा बढी कारोबार गर्छन् । त्यसैले यति सानो बजारमा शाखा खोलेर घाटामा जान उनीहरु चाहँदैनन् । राष्ट्र बैंकले विदेशी बैंक नेपाल आउन सक्ने भन्दै विगत ५÷६ वर्षदेखि सबै हिसाबमा बलियो हुन बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउँदै आएको छ । यसैअनुरुप, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि ८ गुणाले बढाउने घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्ूथाहरु सोही अनुरुप मजबुत पनि बन्दै गइरहेका छन् । तर, विदेशी बैंक नै भित्र्याउनका लागि यो पर्याप्त देखिँदैन ।
२० अर्ब चुक्ता पुँजी
विदेशी बैंकका प्रतिनिधि वा अन्य कुनै पनि कार्यालयले राष्ट्र बैैंकले तोकेअनुसार मात्रै काम गर्न पाउनेछन् । राष्ट्र बैंकले नेपालमा खुल्ने विदेशी बैंकका शाखाको चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । अहिले नेपाली बैंकहरुले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउँदा पनि अर्थतन्त्रको आकार सानो भएकाले नाफा नहुने भन्दै गुनासो गर्दै आएका छन् । यस्तो अवस्थामा विदेशी बैंकले २० अर्ब चुक्ता पुँजी राखेर कारोबार सुरु गर्ने सम्भावना झनै कम देखिन्छ ।
होलसेल बैंकिङमात्रै गर्न पाउने व्यवस्था
नेपालमा शाखा खोल्ने कुनै पनि विदेशी बैंक तथा वित्तीय संस्थाका शाखाले ‘होलसेल (थोक) बैंकिङ कारोबार’ मात्रै गर्न पाउने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ को विधेयकमा विदेशी बैंकका शाखाले नेपाली बजारमा खुद्रा बैंकिङ कारोबार गर्न नपाउने उल्लेख छ । जसअनुसार, विदेशी बैंकका शाखाले संस्थागत निक्षेप लिने र संस्थागत नै लगानी गर्नुपर्ने हुन्छ ।
शाखा बन्द गर्न स्वीकृति नलिए कसुर ठहरिने व्यवस्था
नेपालमा खुलेका विदेशी बैंकका शाखाले आफ्नो शाखा बन्द गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिएर शाखाको सम्पूर्ण दायित्व भुक्तानी गरेर मात्र आफ्नो शाखा बन्द गर्नसक्ने कानूनी प्रावधान छ । ‘शाखाको नियमित कारोबारको सिलसिलामा बाहेक विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको कुनै पनि पदाधिकारी वा कर्मचारीले त्यस्तो शाखाको कुनै सम्पत्ति अर्को मुलुकमा स्थानान्तरण गरेमा, सोको स्वीकृति दिएमा, त्यसो गर्न अख्तियारी दिएमा वा सो कार्यलाई मद्दत गर्ने वा पुग्ने कुनै कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ,’ बाफिया विधेयकमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) अनुसार कुनैपनि राष्ट्र बैंकबाट स्वीकृतप्राप्त विदेशी बैंकका शाखालाई नेपाली बैंक तथा वित्तीय संस्था सरह मानिने प्रावधान छ । त्यस्तै, विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको काम, कर्तव्य, अधिकार, जिम्मेवारी, दायित्व, जायजेथा, लेखा आदि काम कारबाहीको जिम्मेवारी लिने तथा त्यस्तो काम कारबाही सम्पादन गर्ने पदाधिकारी तथा कर्मचारीहरुको जिम्मेवारी सम्बन्धमा राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्नेछ ।



