वैदेशिक रोजगारीबाट विप्रेषण प्राप्त गर्ने अधिकांश घरपरिवारले बचत गर्ने गरेको पाइएको छ । राष्ट्र बैंकले तीन सय २० घरपरिवारलाई समेटी विप्रेषणबाट भएको बचत तथा लगानी प्रवृत्तिबारे गरेको अध्ययनले वैदेशिक रोजगारीबाट विप्रेषण पाउनेमध्ये ६६.६ प्रतिशत घरपरिवारले केही अंश बचत गर्ने गरेको देखाएको हो । बचत गर्ने घरपरिवारमध्ये ६४.५ प्रतिशतले बैंक तथा वित्तीय संस्थामा, १७.३ प्रतिशतले घरमै र ८.९ प्रतिशतले सहकारी संस्थामा बचत गरेका छन् । विप्रेषणबाट प्राप्त रकम बचत गर्ने ४८.८ प्रतिशत घरपरिवारले घरजग्गा खरिद गर्नका लागि बचत गरेको बताएका छन् भने ३६.६ प्रतिशतले घर मर्मतका लागि रकम बचत गर्ने गरेको पाइएको छ । बाँकीले बालबालिकाको शिक्षा तथा स्वास्थ्य, दैनिक उपभोग र सामाजिक कार्यका लागि बचत गर्ने गरेका छन् ।
बाँकी ३३.४ प्रतिशत घरपरिवारले उपभोग तथा ऋण तिर्न प्रयोग गरेको पाइएको छ । सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थामा बचत गर्ने घरपरिवारको अनुपात ग्रामीण क्षेत्रमा भन्दा उच्च छ । अध्ययनले वैदेशिक रोजगारमा गएकाले कमाएर पठाएको आयमध्ये २५.३ प्रतिशत ऋण तिर्न प्रयोग भएको देखाएको छ । प्रायः वैदेशिक रोजगारीमा जानेको आर्थिक अवस्था कमजोर हुने र विदेशमा काम गर्न जानैका लागि पनि ऋण लिनुपर्ने अवस्थाका कारण उनीहरूले कमाएको रकममध्ये एकचौथाइ रकम ऋण तिर्न प्रयोग भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । कतिपय कामदारले घरघडेरी जोड्न पनि ऋण लिने र त्यो रकम तिर्न प्राथमिकता दिने गरेको पाइएको छ ।
प्राप्त विप्रेषण रकममध्ये २३.९ प्रतिशत रकम खाद्यान्न तथा लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुमा, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यमा र तीन प्रतिशत घरायसी सम्पत्ति खरिदमा प्रयोग भएको देखिएको छ । त्यस्तै, २८ प्रतिशत बचत भएको पाइएको छ भने र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ ।
राष्ट्र बैंकले अध्ययनका लागि पहाड र तराईका सात÷सात तथा हिमाली क्षेत्रका दुईवटा जिल्लालाई सर्वेक्षणमा समावेश गरेको थियो ।



