November 5th, 2022

हङकङमा तरलता अभाव चुलियो

बैंकिङ खबर/ हङकङको डि फ्याक्टो केन्द्रीय बैंकले स्थानीय मुद्रालाई सहयोग गर्न मौद्रिक हस्तक्षेप गरेको छ । हङकङको तरलता एक खर्ब हङकङ डलरभन्दा कममा झरेसँगै केन्दीय बैंकले नयाँ कदम चालेको हो ।

हङकङ मनिटरी अथोरिटी (एचकेएमए)ले ३८ करोड ९० लाख अमेरिकी डलर सञ्चिति बिक्री गरेर सोही बराबरको ३ अर्ब ५ करोड एचके डलर साटको हो । स्थानीय मुद्रा कमजोर बनेसँगै केन्द्रीय बैंकले नयाँ निर्णय गरेको हो । एचकेएमएले यस वर्ष विभिन्न ४० पटकको हस्तक्षेपमा २ खर्ब ४१ अर्ब एचके डलरभन्दा धेरै रकम खरिद गरेको छ ।

यससँगै अब केन्द्रीय बैंकसँगको तरलता ९६ अर्ब ७७ एचके डलरमा झरेको छ। सन् २०२० को जुनयता पहिलोपटक तरलता एक खर्ब एचकेडलरभन्दा कममा झरेको हो । हङकङको केन्द्रीय बैंकले पहिलोपटक मे ११ मा मौद्रिक हस्तक्षेप गरेको थियो । त्यसयता अहिलेसम्म तरलता ७१ प्रतिशतले घटिसकेको छ ।

बजारमा तरलता अभाव हुँदै गएसँगै गत बिहीबार एचकेएमएले ब्याजको आधार दर पनि ३.५ प्रतिशतबाट बढाएर ४.२५ प्रतिशतमा पुर्याएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]