
बैंकिङ खबर/ संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति १२ महिनामा पहिलोपटक सामान्य रूपमा घटेको छ । तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्यांकले देखाएको छ ।
दुई करोड २० लाख जनसंख्या भएको यस टापु राष्ट्रले महिनौँदेखि चरम आर्थिक कठिनाइको सामना गर्नुपरेको छ र खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।
जनगणना तथा तथ्यांक विभागको तथ्यांकअनुसार अक्टोबरको मुद्रास्फीति सेप्टेम्बरको ६९.८ प्रतिशतको तुलनामा करिब चार प्रतिशत अंकले कम हो ।
श्रीलंकामा सेप्टेम्बरमा लगातार १२औँ महिना ९४.९ प्रतिशत रहेको खाद्य मुद्रास्फीति अक्टोबरमा घटेर ८५.६ प्रतिशतमा झरेको छ ।
विभागले मुद्रास्फीतिमा मन्दीका कारण भने खुलाएको छैन, तर अधिकारीहरूले अक्टोबरमा दुई पटक इन्धनको मूल्य घटाएका थिए र मूल्यमा २० प्रतिशतले कटौती गरेका थिए ।
यद्यपि, पेट्रोलको मूल्य गत वर्षको अन्त्यमा सङ्कट सुरु हुनुअघिको तुलनामा दोब्बर छ, जबकि सामान्यतया सार्वजनिक यातायातका लागि प्रयोग हुने डिजेलको मूल्य अझै साढे तीन गुणा बढी छ ।
खाद्यान्न र इन्धन दुवैको मूल्य वृद्धिका कारण मागमा कमी आएको छ भने पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको लाम हालैका हप्तामा ह्वात्तै घटेको छ ।




