२०७३ आश्विन २० गते

राष्ट्र बैंकको निर्देशन : संस्थापकहरुले अब बैंक छोड्न नपाउने

nrbसंस्थापक सेयर अब संस्थापक लगानीकर्ताका बीचमा मात्र किनबेच हुन पाउने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ एकीकृत निर्देशन २०७३ जारी गर्दै संस्थापकहरुलाई बैंक तथा बित्तीय संस्था छाडेर जान नपाउने गरी कडाई गरेको हो । लघुवित्त कम्पनी बाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको संस्थापक शेयर कारोबारका सम्बन्धमा राष्ट्र बैंक ऐन २०५८ अनुसार संस्थापकका बिचमा मात्र कम्पनीहरुको संस्थापक शेयर किनबेच वा नामसारी हुन सक्ने व्यवस्था गरिएको बताइएको छ ।

एकीकृत निर्देशनमा सम्बन्धित बर्गका संस्थापकहरुवीचमा मात्र सेयर किनबेच हुनुपर्ने र त्यसरी हुन नसकेमा मात्र अन्यले संस्थापक सेयर खरिद गर्नसक्ने ब्यवस्था गरिएको छ । यस्तो ब्यवस्था पहिले पनि रहेकोमा अहिले प्रावधान स्पष्ट पारी थप कडाई मात्र गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले संस्थापक शेयरधनीको मृत्यू भएमा हकवालाको नाममा शेयर नामसारी गराई सोको जानकारी १५ दिन भित्रमा राष्ट्र बैंकलाई गराउन भनेको छ । त्यसै गरी बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको २ प्रतिशत भन्दा बढी शेयर संस्थापकका बिचमा नामसारी वा किनबेच गर्नका लागि राष्ट्र बैंकको स्वीकृति लिएर सोको जानकारी पनि गराउन अनिवार्य गरिएको छ ।

सञ्चालक समितिले संस्थापक शेयर नामसारी वा बिक्रि गर्ने निर्णय गरेर मात्र एक संस्थापकको नामबाट अर्कोको नामसारी गर्नु पर्ने छ । यस क्रममा कालो सूचीमा परेका, लेखा परिक्षक रहेका कर चुक्ता नगरेका व्यक्तिलाई संस्थापक शेयर दिन नपाईने प्रष्ट व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशनमा बैंक तथा वित्तीय संस्थाको पूँजी कोष अनुपात, कर्जा वर्गीकरण, व्याजदर, लगानी, संस्थागत सुसाशन, स्तरोन्नति लगायत विषयको आधार पनि स्पष्ट पारेको छ ।