आफूखुसी मूल्य तोकेको भन्दै एफपिओ निष्काशनको अन्तिम चरणमा पुगेर रोक लगाइएको नेपाल लाइफ इन्स्योरेन्सले एफपिओ निष्काशनका लागि पुनः धितोपत्र बोर्डमा निवेदन दिएको छ । नेपाल लाइफसँगै यतिबेला एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति पर्खेर बसेका छ कम्पनीहरु छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शेयर अर्थात एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले करिब ३१ लाख कित्ता एफपिओ जारी गर्न गत बोर्डमा आवेदन दिएको हो । कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गर्न बोर्डमा आवेदन गरेको हो । तर नेपाल लाइफले एफपिओ जारी गर्ने आवेदन पत्रका साथ आवश्यक कागजात नबुझाएको धितोपत्रबोर्डले आफ्नो सूचनामा उल्लेख गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी
सगरमाथा इन्स्योरेन्स कम्पनीले पनि पूँजी वृद्धिका लागि एफपिओ निष्काशनको योजना अघि सारेको छ । कम्पनीको गएको साधारणसभाले प्रिमियममा थप नयाँ शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । कति एफपिओ निष्काशन गर्ने भन्ने औपचारिक निर्णय भैनसकेको भए पनि प्रिमियम संकलनका लागि हुने मुल्य निर्धारणका आधारमा शेयरको संख्या तोकिने तयारी कम्पनीको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनी
प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि पूँजीवृद्धिका लागि एफपिओ जारी गर्ने भएको छ । इन्स्योरेन्सको गत चैत्रमा सम्पन्न साधारणसभाले साढे ६ लाख कित्ता सेयर एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीको सस्थापक समूहमा हाल रहेको ६० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशत कायम गरि साधारण समूहको ४९ प्रतिशत पुर्याउन कम्पनीले एफपिओ गर्न लागिएको जनाएको छ । कम्पनील ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर एफपिओ निष्काशन गर्ने योजना बनाएको छ ।
पोखरा फाइनान्स
पोखरा फाइनान्सले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता नयाँ सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले आगामी कात्तिक ९ गते हुने साधारणसभामा यो प्रस्ताव जाने जनाएको छ ।
बुटवल पावर कम्पनी
बुटबल पावर कम्पनी लिमिटेडले ३० लाख कित्ता एफपिओ जारी गर्देछ । कम्पनीको गत असार २७ गते सम्पन्न साधारणसभाले ३० लाख कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
अरुण भ्याली हाइड्रो
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पनि ३१ लाख ५७ हजार ८८३ कित्ता एफपिओ जारी गर्दैछ । गत भाद्र १७ गतेको साधारणसभाबाट उक्त प्रस्ताव पारीत समेत भइसकेको छ ।





