Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुमा नयाँ ग्राहकलाई कर्जा दिने पैसा छैन : अनिल उपाध्याय(अध्यक्ष, बैंकर्स संघ)

२०७९ आश्विन ११ गते

बैंकिङ खबर/ बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बैंकहरुमा नयाँ ग्राहकलाई कर्जा दिने पैसा नभएको बताउनुभएको छ । काठमाडौं उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले नयाँ ग्राहकलाई कर्जा दिने पैसा नभएको र पुरानालाई एक महिनाको समय दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकहरुले ४.४ को स्प्रेड रेटमा बस्ने हो । बैंकहरु निक्षेपको लागतको आधारमा चल्ने हो । गत आर्थिक वर्षमा बैंकहरुको सञ्चालन नाफा जम्मा ८.९२ प्रतिशतले बढेको छ । १०.५२ प्रतिशत अघिल्लो वर्षमा गरेको जोखिम प्रोभिजनबाट राइट ब्याक गरेको आम्दानी हो । तपाईंहरु पनि लगानी कर्ता हुनुहुन्छ होला, लगानीमा प्रतिफल कति छ भन्ने कुरा हेर्न सक्नुहुन्छ । लगानीमा प्रतिफल ३÷४ वर्ष अगाडि कति थियो र अहिले कति छ ?बैंकहरुको फी तथा कमिसन आम्दानी करिब ५ प्रतिशतले मात्रै बढेको छ । ट्रेडिङ आम्दानी ३५ प्रतिशतले घटेको छ । अन्य सञ्चालन आम्दानी करिब ४० प्रतिशतले घटेको छ ।’

बैंकहरुले लिनुपर्ने एटीएम शुल्क, ट्रान्सफर शुल्क नलिएर कर्जा शुल्क मात्रै लिएर काम गरेको उहाँको भनाइ छ । स्रोत अभाव भएर बैंकहरुले पछिल्लो ६ महिना कर्जा लगानी गर्न नसकेको उहाँले बताउनुभयो ।

त्यस अवधिमा पहिलेको लगानीको पोर्टफोलियो व्यवस्थापन गरेर नाफा कमाएको हो । १८ प्रतिशतको औसत नाफा वृद्धि त्यही कारणले भएको उहाँको भनाइ छ ।

बैंकहरुले वार्षिक ८/९ प्रतिशतको रिटर्नमा काम गरिरहेको पनि उहाँले बताउनुभयो । उहाले भन्नुभयो, ‘बैंकहरुले यो चुनौतीबीच दुई पटक ब्याजदर बढाएका छन् । ब्याजदर वृद्धि पनि निजी क्षेत्रको हितमा नै हुने गरी समय दिएर बढाएका छौं । बजार, मुद्रास्फीति तथा व्यवसायीलाई असर नहोस् भनेर कात्तिक मंसिरमा ब्याजदर बढाएका हौं । निजी क्षेत्रले पनि बढेको ब्याजदरका लागि तयार गर्न सकुन् भनेर त्यसो गरिएको हो ।’

उहाँले थप्नुभयो, ‘वित्तीय स्रोतको लागत सेयर हुनैपर्छ । निजी क्षेत्रले सबै लागत जोडेर बजारमा जाने बैंकले भने लागत जोड्न नपाउने भन्ने संसारमा कही हुन्छ ? लागत विश्लेषण गरौं । कहाँ बढी छ कहाँ कम छ ? पछिल्लो पटक फागुनमा निक्षेपको ब्याजदर बढाएर समय दिएका छौं । अहिले पनि एक महिना अगाडि ब्याजदर बढाएर समय दिएका छौं । नयाँ ग्राहकलाई कर्जा दिने पैसा छैन । पुरानालाई एक महिनाको समय दिएका छौं । स्रोतको लागत बढेपछि त्यही अनुसार कर्जामा लिने हो ।’

कोभिड–१९ महामारीका कारण दुई वर्ष कर्जाको माग नहुँदा सप्लाइ बढी भएको उहाँले बताउनुभयो । ‘बैंकहरुले घर घरमा गएर बेस रेटमा कर्जा दिए । बैंकहरुको पनि सेल्स मेकानिजम हुन्छ । बैंकहरु पनि आफ्नो लागात उठाउन व्यावसायिक योजना अनुसार नै अघि बढीरहेका हुन्छन् । सोही अनुसार केही बेस रेटभन्दा तल र केहीले बेस रेटमै कर्जा दिए ।

सस्तोमा कर्जा लिने र दिनेबारे त्यतिबेला निजी क्षेत्रले कुनै नैतिकता देखाएन । कोभिडको समयमा डिमान्ड पनि थिएन । गल्ती त्यहीँ भएको थियो । पछिल्लो चरणमा कर्जा पुनर्संरचना र पुनरतालिकीकरण गर्दा जरिवाना नलाग्ने पुनर्कर्जा लगायतका कारणले बजारमा पैसा आएको थियो । बैंकहरुले पनि स्रोत पर्याप्त हुँदा बेस रेटमा लगानी गरे । तर, अहिले स्रोतको अभाव छ । त्यही अवस्था रहोस् भन्ने चाहाना निजी क्षेत्रको अहिले देखिन्छ’ उहाँले भन्नुभयो ।

निक्षेप र कर्जाको विश्लेषण गर्दा २०७८ असारमा निक्षेपको ४.६८ प्रतिशत भारित औसत ब्याजदर रहेकामा आज करिब ८ प्रतिशत पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘२०७८ असारमा कुल निक्षेपमा ४४ देखि ४६ प्रतिशत मुद्दती निक्षेपको भार थियो । आज त्यो बढेर ५८ प्रतिशत नाघेको छ । निजी क्षेत्रले पनि बैंकको समस्या बुझिदिनु पर्छ । बैंकहरुको निक्षेपमा लागतको भार बढेको छ । यसले ३ प्रतिशत बिन्दु भन्दा बढीले बैंकहरुको लागतमा प्रत्यक्ष असर पु¥याएको छ । गत वर्ष ६.६ प्रतिशत रहेको बेस रेट ९.७२ पुगिसकेको छ । गएको महिनाको जोड्दा १० प्रतिशत पुग्ने अवस्था छ । लागतमा यस्तो परिवर्तन भएको छ । बैंकको लागत निजी क्षेत्रलाई पनि नबाँढ्ने हो भने बैकिङ क्षेत्र टिक्न सक्दैन । यदी बैंकिङ क्षेत्र टिक्न सकेन भने अर्थ व्यवस्था कसरी चल्छ ?’

अहिलेको समस्या समाधान भने दीर्घकालीन स्रोत व्यवस्थापनबाट मात्रै समाधान हुन्छ । दीर्घकालीन रिसोर्स कसरी व्यवस्थापन गर्ने भन्नेमा सोच्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘त्यसको बन्ड र डिबेञ्चरको मार्केट विकास गर्नुपर्छ । दीर्घकालीन स्रोत भएपछि परियोजनको आधारमा लगानी हुन्छ । ऋणपत्र र बण्डको स्रोतलाई क्षेत्रगत विकासलाई लगाउन सक्यौं र स्रोत व्यवस्थापन गर्न सक्यौं भने त्यसले राम्रो गर्छ ।’
चालु पूँजी कर्जाको कुरा गर्दा भारतमा १९८० माा लागू भएको मार्गदर्शन अहिले परीक्षण गर्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संकटको बेला पर्यो भन्ने गुनासो स्वभाविक छ । तर, यो अभ्यास विश्वभर छ । यसको कार्यान्वयन र कर्जामा भएको मिसम्याचको विषयमा छलफल भइरहेको छ । त्यसमा पनि एउटा निकास आउँछ । बैंक र व्यवसायीको डोरी एउटै हो । यसमा दोषारोपण भन्दा पनि दुवै पक्ष मिलेर अगाडि बढ्यौं भने मात्रै समस्यामा पार पाउँछौं ।’

आवधिक कर्जामा लामो समयका लागि स्थिर ब्याजदरमा कर्जा लगानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अर्को ब्याजदर घटे घट्न र बढे बढ्न भनेर बैंकसँग सम्झौता गरेर सम्झौताको कुरालाई उछालिरहेको हुन्छौं । बैंकसँग खुसुक्क सहमति गर्ने तर, बाहिर उछालिरहेका हुन्छौं । बेसरेटमा प्रिमियम थपघट हुन्छ । बेसरेट प्रकासन हुन्छ । प्रणालीमा पैसा भयो भने प्रिमियम कम हुन्छ । अहिले पैसा छैन छुट नभएर फेयर मूल्यमा गयो । यो नियामकीय व्यवस्था हो । त्यहाँबाट बाहिर गएको छैन ।’

बैंकिङ क्षेत्र स्थायित्व भए मात्रै अर्थतन्त्र स्थायित्व हुन्छ । बैंकिङ क्षेत्र अस्थिर भएमा त्यसले अर्थ व्यवस्थामा के असर गर्छ त्यसलाई बुझ्नुपर्ने उहाँको भनाइ छ । ‘यदी नियामकीय व्यवस्थाबाट बाहिर गएको छ भने नियामकीय निकायमा पनि गुनासो सुनुवाइ इकाइ छ । आधिकारीक रुपमा विषय आयो भने विषयगत रुपमा बैंकर्स संघमा पनि छलफल गर्छौं । मिसम्याच कसले कति ग¥यो स्पष्ट हुनुपर्छ । त्रुटि हुनसक्छ । भएको छ भने करेक्सन गर्ने हो । बैंकिङ क्षेत्र स्थायित्व भए मात्रै अर्थतन्त्र स्थायित्व हुन्छ । बैंकिङ क्षेत्र अस्थिर भएमा त्यसले अर्थ व्यवस्थामा के असर गर्छ त्यसलाई बुझ्नुपर्छ’ उहाँले भन्नुभयो ।

बैंकहरुले राष्ट्र बैंकले नियामकीय व्यवस्थाभित्र रहेर व्यावसायिक रणनीति अनुसार काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुनासो छन् भने सम्बोधन गर्ने हो । नीतिगत रुपमा स्पेस भने त्यसको पहलमा बैंकर्स संघले पनि सुझाव दिएकै हुन्छ । लागत अनुसारको मूल्य सेयर भएन भने समग्रै बैंकिङ उद्योग नै टिक्न सक्दैन ।’

उहाँले थप्नुभयो, ‘भारत, अमेरिका र बेलायतले ब्याजदर बढाएकै छन् । युरोपका अधिकांश बैंकले बढाएका छन् । निक्षेप राख्दा शुल्क लिने देशका बैंकले ब्याजदर बढाइरहेका छन् । हामीले निक्षेपमा पहिलेदेखि नै उच्च ब्याज दिएका छौं ।’ लागत समायोजन गर्न कहाँ कहाँ भूमिका खेल्न मिल्छ त्यसमा अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ ।