माधव निर्दोष, बैंकिङ खबर / नेपालमा वित्तीय पहुँच विस्तारको अभियानसँगै बैंक तथा वित्तीय संस्थाका शाखा सहरबाट गाउँतर्फ विस्तार भए । कुनै समय बैंकको शाखा पुग्नु नै विकास र आर्थिक समावेशीकरणको महत्वपूर्ण आधार मानिन्थ्यो। स्थानीय तहसम्म बैंकका शाखा पुग्दा ग्रामीण नागरिकले सहज रूपमा खाता खोल्ने, बचत गर्ने, कर्जा लिने र वित्तीय सेवामा जोडिने अपेक्षा गरिएको थियो।
तर अहिले बैंकिङ क्षेत्र नयाँ किसिमको चुनौतीको सामना गरिरहेको छ। गाउँ–गाउँमा बैंकका शाखा त पुगे, तर ती शाखाबाट उपलब्ध हुने आधुनिक डिजिटल सेवाको प्रयोग भने अपेक्षित रूपमा बढ्न सकेको छैन। डिजिटल साक्षरताको कमी, प्रविधिप्रतिको डर, वित्तीय ज्ञानको अभाव र डिजिटल पूर्वाधारको कमजोरीका कारण ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच विस्तारको उद्देश्य पूर्ण रूपमा हासिल हुन सकेको छैन। यसले बैंक तथा वित्तीय संस्थालाई समेत नयाँ दबाब सिर्जना गरेको छ। ठूलो लगानी गरेर विस्तार गरिएका ग्रामीण शाखाहरूमा कारोबारको मात्रा अपेक्षित रूपमा बढ्न नसक्दा सञ्चालन लागत व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको छ। बैंकहरू डिजिटल माध्यमबाट सेवा विस्तार गर्न चाहिरहेका छन् भने ग्रामीण ग्राहक अझै पनि परम्परागत शाखा केन्द्रित बैंकिङमै निर्भर छन्।
शाखा विस्तार भयो, कारोबारको स्वरूप बदलिएन
नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै बैंक तथा वित्तीय संस्थालाई देशभर शाखा विस्तार गर्न प्रोत्साहन गर्दै आएको छ। यसैको परिणामस्वरूप पछिल्ला वर्षहरूमा दुर्गम तथा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा पुगेका छन्। बैंकिङ सेवा गाउँसम्म पुग्नु सकारात्मक उपलब्धि भए पनि त्यसको प्रभावकारी उपयोग भने अझै चुनौतीकै रूपमा रहेको छ। धेरै ग्रामीण ग्राहकले बैंक खाता खोले पनि दैनिक कारोबारका लागि अझै शाखामै पुग्ने गरेका छन्। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट, क्यूआर भुक्तानीलगायतका सेवा उपलब्ध भए पनि यसको प्रयोग ग्रामीण क्षेत्रमा सीमित छ। कतिपय ग्राहकलाई डिजिटल कारोबारको प्रक्रिया थाहा छैन भने कतिपयमा प्रविधिप्रति विश्वासको कमी देखिन्छ। यसले बैंकिङ प्रणालीलाई डिजिटल युगमा लैजाने प्रयासमा अवरोध सिर्जना गरिरहेको छ।
बैंक तथा वित्तीय संस्थाका लागि शाखा विस्तार सस्तो प्रक्रिया होइन। कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन, सुरक्षा, प्रविधि र अन्य पूर्वाधारमा ठूलो खर्च गर्नुपर्छ।सहरका शाखामा कारोबारको मात्रा उच्च हुने भए पनि ग्रामीण क्षेत्रका धेरै शाखामा कारोबार तुलनात्मक रूपमा कम हुने गरेको छ। ग्राहकको संख्या र कारोबारको आकारअनुसार आम्दानी बढ्न नसक्दा केही शाखा बैंकका लागि लागतको केन्द्र बन्न थालेका छन्। विशेषगरी दुर्गम क्षेत्रका शाखामा नियमित बैंकिङ कारोबार सीमित हुँदा बैंकहरूले सञ्चालन खर्च र सेवा विस्तारबीच सन्तुलन कायम गर्न कठिनाइ भोगिरहेका छन्। डिजिटल बैंकिङको प्रयोग बढाउन सकेमा बैंकहरूले कम लागतमा धेरै ग्राहकलाई सेवा दिन सक्छन्। तर त्यसका लागि ग्राहकलाई डिजिटल प्रणालीप्रति अभ्यस्त बनाउनु आवश्यक छ।
डिजिटल साक्षरता अभावले रोक्यो परिवर्तन
डिजिटल बैंकिङ विस्तारका लागि प्रविधि मात्र पर्याप्त हुँदैन। त्यसको प्रयोग गर्ने ज्ञान र क्षमता पनि आवश्यक हुन्छ। यही क्षेत्रमा अहिले ग्रामीण नेपाल सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ। धेरै नागरिक अझै पनि मोबाइलबाट पैसा पठाउने, क्यूआरमार्फत भुक्तानी गर्ने, अनलाइनबाट बैंकिङ कारोबार गर्ने विषयमा सहज छैनन्। डिजिटल कारोबार गर्दा गल्ती हुने डर, साइबर ठगीको चिन्ता र प्रविधि प्रयोगको अनुभवको कमीले उनीहरूलाई परम्परागत बैंकिङ प्रणालीमै निर्भर बनाएको छ। ग्रामीण क्षेत्रमा डिजिटल वित्तीय साक्षरता कमजोर हुँदा नागरिकले प्रविधिबाट प्राप्त हुन सक्ने अवसरको पूर्ण लाभ लिन सकेका छैनन्। अर्कोतर्फ डिजिटल प्रणाली प्रयोग नगर्दा बैंकहरूले विस्तार गरेका नयाँ सेवाहरू पनि प्रभावकारी बन्न सकेका छैनन्। डिजिटल बैंकिङ विस्तारको मुख्य आधार केवल मोबाइल र इन्टरनेटको उपलब्धता होइन, प्रयोगकर्ताको विश्वास पनि हो। ग्रामीण क्षेत्रमा डिजिटल कारोबार सुरक्षित हुन्छ भन्ने विश्वास बढाउन आवश्यक छ।धेरै नागरिकलाई अनलाइन कारोबार गर्दा पैसा हराउने, गलत व्यक्तिलाई जाने वा ठगी हुने डर हुन्छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले डिजिटल सुरक्षाबारे जनचेतना विस्तार गर्नुपर्ने देखिन्छ। स्थानीय तह, बैंक तथा वित्तीय संस्था र नियामक निकायबीच सहकार्य गरेर गाउँ–गाउँमा डिजिटल वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेमा डिजिटल बैंकिङको विस्तार प्रभावकारी बन्न सक्छ।
अबको आवश्यकता शाखा होइन, सेवाको उपयोग बढाउने
नेपालको बैंकिङ क्षेत्र अब नयाँ चरणमा प्रवेश गरिरहेको छ। विगतमा चुनौती बैंकको शाखा गाउँसम्म पुर्याउनु थियो। अहिलेको चुनौती भने पुगेका बैंकिङ सेवाको उपयोग बढाउनु हो। वित्तीय समावेशीकरण भनेको केवल बैंक खाता खोल्नु मात्र होइन, नागरिकलाई बचत, कर्जा, भुक्तानी र अन्य वित्तीय सेवामा सक्रिय रूपमा सहभागी गराउनु पनि हो। यसका लागि बैंकहरूले डिजिटल सेवा विस्तारसँगै ग्राहक शिक्षामा समेत लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा डिजिटल कारोबार सिकाउने, सुरक्षित प्रयोगबारे जानकारी दिने र प्रविधिमाथिको विश्वास बढाउने कार्यक्रम आवश्यक छन्।
एआई बैंकिङले गाउँमा बैंकिङ सेवा झन् कठिन बनाउने जोखिम
बैंकिङ क्षेत्रमा कृत्रिम बुद्धिमत्ता ९एआई०, डिजिटल सहायक, स्वचालित कारोबार प्रणाली र प्रविधिमा आधारित सेवाको प्रयोग बढ्दै गएको छ। शहरमा रहेका ग्राहकले यस्ता सेवाबाट सहजता पाइरहेका छन्। तर ग्रामीण क्षेत्रमा भने यही प्रविधि नयाँ चुनौती बन्न सक्ने देखिएको छ। मोबाइल बैंकिङ, डिजिटल वालेट, च्याटबट, एआई आधारित ग्राहक सेवा र अनलाइन कारोबार प्रणाली विस्तार भइरहेका छन्। तर डिजिटल उपकरण चलाउने सीप, प्रविधिमाथिको विश्वास र वित्तीय ज्ञानको कमीका कारण धेरै ग्रामीण नागरिक यस्ता सेवाबाट अझै बाहिर छन्। पहिले बैंकको शाखामा गएर कर्मचारीसँग प्रत्यक्ष सहयोग लिएर सेवा लिने गरेका ग्राहक अब प्रविधिमा आधारित प्रणाली प्रयोग गर्नुपर्ने अवस्थामा पुगेका छन्। तर डिजिटल साक्षरता कमजोर हुँदा उनीहरूका लागि आधुनिक बैंकिङ सेवा सहजभन्दा झन् जटिल बन्ने जोखिम बढेको छ।




