Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बुबाको मुख हेर्ने दिन नबिल बैंकको भावनात्मक सन्देश, ‘अटिजम कमजोरी होइन’

२०८३ भाद्र २६ गते

बैंकिङ खबर /  बुबाको मुख हेर्ने दिनको अवसरमा नबिल बैंकले सन्तानप्रतिको बुबाको निस्वार्थ माया, साथ र भरोसालाई उजागर गर्दै भावनात्मक सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको सामग्रीले विशेषगरी अटिजम भएका बालबालिकाका अभिभावकले भोग्ने अनुभव, उनीहरूप्रति समाजको दृष्टिकोण र अभिभावकको भूमिकालाई विषयवस्तु बनाएको छ। सन्देशमा अटिजम भएका बालबालिकाले अरूभन्दा फरक ढंगले संसारलाई महसुस तथा प्रतिक्रिया जनाउन सक्ने विषयलाई प्रस्तुत गरिएको छ। उनीहरूको व्यवहारलाई समाजले ‘असामान्य’ भनेर मूल्यांकन गर्नेभन्दा उनीहरूको अवस्था बुझ्ने र स्वीकार गर्ने वातावरण आवश्यक रहेकोमा जोड दिइएको छ ।

सन्तानको विकासक्रमबारे अभिभावकका आफ्नै अपेक्षा र सपना हुन्छन्। तर सन्तानको अवस्था र आवश्यकतालाई बुझ्दै उनीहरूको यात्रामा साथ दिनु अभिभावकत्वको महत्वपूर्ण पक्ष भएको सन्देशले देखाउन खोजेको छ । विशेषगरी अटिजम भएका बालबालिकाका अभिभावकले दैनिक जीवनमा थप धैर्य, समय, हेरचाह र समझदारी आवश्यक पर्ने अवस्था आउन सक्छ। त्यसमाथि समाजबाट हुने मूल्यांकन र गलत बुझाइले अभिभावकको भावनात्मक दबाब थप बढाउन सक्ने विषयलाई पनि सामग्रीले समेटेको छ ।

नबिल बैंकको सन्देशले अटिजमलाई कमजोरीका रूपमा नभई संसारलाई फरक तरिकाले बुझ्ने अवस्था भएकाले त्यस्ता बालबालिकालाई बुझ्न, स्वीकार गर्न र सम्मान गर्नुपर्ने धारणा अघि सारेको छ । बैंकले भिडियो सार्वजनिक गर्दै सन्तानका सपनालाई आफ्नै सपना बनाउने, सन्तान कठिनाइमा पर्दा हात समाउने र आफू थाकेर पनि सन्तानका लागि बलियो भएर उभिने बुबाप्रति सम्मान व्यक्त गरेको छ ।

बुबाको मुख हेर्ने दिनको अवसरमा सार्वजनिक गरिएको उक्त सन्देशमार्फत नबिल बैंकले पारिवारिक सम्बन्धसँगै समावेशी समाज निर्माणका लागि आवश्यक समझदारी र संवेदनशीलताको विषयलाई समेत उठाएको छ ।