Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

राष्ट्र बैंकले सार्वजनिक गर्यो बैंक तथा वित्तीय संस्थाको मर्जर–एक्विजिसनको विस्तृत विवरण

२०८३ भाद्र २६ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबीच भएका मर्जर तथा एक्विजिसन (एमएन्डए) को विस्तृत विवरण सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई चार वर्गमा विभाजन गरी मर्जर तथा एक्विजिसनबाट बनेका संस्थाहरूको विवरण सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा कुनै संस्था कुन संस्थासँग गाभिएको वा कुन संस्थालाई प्राप्ति गरेको हो भन्ने इतिहाससँगै त्यस्ता प्रक्रिया पूरा भएपछि कायम भएको संस्थाको नामसमेत उल्लेख गरिएको छ। यसले नेपालमा पछिल्ला वर्षमा अघि बढेको बैंक तथा वित्तीय संस्थाको एकीकरण तथा संस्थागत पुनर्संरचनाको क्रमलाई एउटै विवरणबाट बुझ्न सकिने बनाएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई ‘क’ वर्ग, विकास बैंकलाई ‘ख’ वर्ग, वित्त कम्पनीलाई ‘ग’ वर्ग र लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गमा राखेर छुट्टाछुट्टै विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणमा क्रमशः २१ वाणिज्य बैंक, १४ विकास बैंक, १२ वित्त कम्पनी र २८ लघुवित्त वित्तीय संस्थासँग सम्बन्धित ‘अन्तिम संस्था’ अर्थात् Ultimate Entity को विवरण समेटिएको छ।

मर्जर तथा एक्विजिसनको लामो प्रक्रियाबाट अहिले सञ्चालनमा रहेका कतिपय ठूला बैंक तथा वित्तीय संस्था बनेका छन्। पछिल्ला वर्षमा भएको एकीकरणका कारण आज देखिएका संस्थाहरूको संरचना विगतको तुलनामा निकै फरक छ। वाणिज्य बैंकतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंकलगायत संस्थाको इतिहासमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग भएका मर्जर तथा एक्विजिसन जोडिएका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको एकीकरणसँगै यसअघि ती संस्थासँग एकीकृत भएका विभिन्न विकास बैंक तथा वित्तीय संस्थाको इतिहास पनि अन्ततः एउटै संस्थासँग जोडिएको छ। त्यस्तै, नबिल बैंकसँग नेपाल बंगलादेश बैंक एकीकृत भएको छ भने विगतमा नबिलसँग युनाइटेड फाइनान्सलगायत संस्था जोडिएका छन्। यसरी राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले अहिलेको संस्थाको नाम मात्र नभई त्यसको पछाडि रहेको मर्जर तथा एक्विजिसनको शृंखलासमेत देखाएको छ।

अन्य बैंकवित्तमा पनि मर्जरको अबस्था धेरै 

विकास बैंकतर्फ पनि मर्जर तथा एक्विजिसनमार्फत संस्थाहरूको संख्या घट्दै जाने र बाँकी संस्थाको आकार विस्तार हुने क्रम देखिन्छ। मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलगायत संस्थाको मर्जर इतिहासमा विभिन्न विकास बैंक तथा वित्तीय संस्था जोडिएका छन्। क्षेत्रीय तथा सीमित कार्यक्षेत्रमा रहेका संस्थाहरू क्रमशः ठूला संस्थासँग गाभिँदै गएपछि अहिलेका विकास बैंकहरूको पूँजी, शाखा सञ्जाल तथा कारोबारको आकार विस्तार भएको छ।

वित्त कम्पनी क्षेत्र पनि मर्जर तथा एक्विजिसनबाट अछुतो छैन। राष्ट्र बैंकको विवरणमा रिलायन्स लोटस फाइनान्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सलगायत संस्थासँग सम्बन्धित मर्जर तथा एक्विजिसनको इतिहास समेटिएको छ । विगतमा छुट्टाछुट्टै अस्तित्वमा रहेका वित्त कम्पनीहरू एकआपसमा गाभिने तथा ठूला संस्थाले साना संस्थालाई प्राप्ति गर्ने क्रमसँगै वित्त कम्पनी क्षेत्रको संरचनामा समेत परिवर्तन आएको छ।

लघुवित्त वित्तीय संस्थाहरूमा पनि मर्जर तथा एक्विजिसनको प्रक्रिया उल्लेख्य रूपमा अघि बढेको राष्ट्र बैंकको विवरणले देखाउँछ। नेरुडे मिर्मिरे लघुवित्त, साना किसान विकास लघुवित्त, डीप्रोक्स लघुवित्तलगायत संस्थासँग सम्बन्धित मर्जर तथा एक्विजिसनको विवरण पनि सूचीमा समेटिएको छ। लघुवित्त क्षेत्रमा समेत विभिन्न संस्थाहरू एकीकृत हुँदै पूँजी, कार्यक्षेत्र र संस्थागत क्षमता विस्तार गर्ने प्रयास भएको देखिन्छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणको महत्वपूर्ण पक्ष भनेको ‘Ultimate Entity’ अर्थात् अन्तिम रूपमा कायम रहेको संस्थालाई आधार बनाएर मर्जर तथा एक्विजिसनको इतिहास प्रस्तुत गर्नु हो। यसको अर्थ हाल अस्तित्वमा रहेको कुनै बैंक वा वित्तीय संस्था मात्र हेर्ने नभई त्यसमा विगतमा गाभिएका, प्राप्ति भएका वा अन्य संस्थासँग एकीकृत भएका संस्थाहरूको इतिहाससमेत एउटै शृंखलामा हेर्न सकिने व्यवस्था हो। यसले बैंक तथा वित्तीय क्षेत्रमा भएको संस्थागत पुनर्संरचनाको वास्तविक आकार बुझ्न सहज बनाएको छ। कुनै एउटा संस्थाको वर्तमान नाम हेर्दा सामान्य देखिए पनि त्यसको पछाडि धेरै संस्था एकीकृत भएको इतिहास हुन सक्ने भएकाले यस्तो विवरणले मर्जर प्रक्रियाको समग्र चित्र प्रस्तुत गर्छ।

नेपालको बैंकिङ क्षेत्रमा मर्जर तथा एक्विजिसनको नीति अघि बढाउनुको प्रमुख उद्देश्य वित्तीय संस्थाको संख्या घटाउनु मात्र थिएन। संस्थाहरूको पूँजीगत आधार बलियो बनाउने, सञ्चालन लागत घटाउने, प्रतिस्पर्धी क्षमता बढाउने, जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा वित्तीय प्रणालीलाई थप सबल बनाउने उद्देश्य पनि यससँग जोडिएको छ।

विशेषगरी साना तथा कमजोर संस्थाहरूलाई बलियो संस्थासँग एकीकृत गराउँदा संस्थागत क्षमता विस्तार हुने अपेक्षा गरिएको थियो। मर्जरपछि संस्थाहरूको पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल र ग्राहक आधार विस्तार भएको देखिन्छ। तर मर्जरपछि संस्थाको संख्या घट्नु मात्रै पर्याप्त उपलब्धि हो कि मर्जर भएका संस्थाहरूको वित्तीय स्वास्थ्य, सेवा गुणस्तर, जोखिम व्यवस्थापन र कर्जा प्रवाहमा समेत सुधार आएको छ भन्ने प्रश्न भने अझ महत्वपूर्ण बन्दै गएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको यो विवरणले नेपालको बैंक तथा वित्तीय क्षेत्रले विगतमा पार गरेको एकीकरणको यात्रालाई अभिलेखीय रूपमा बुझ्न सहज बनाएको छ। एउटै संस्थाको नामभित्र विगतमा कति संस्था समाहित भए भन्ने जानकारीसमेत उपलब्ध हुने भएकाले बैंक तथा वित्तीय क्षेत्रको पुनर्संरचनाको क्रम बुझ्न यो विवरण महत्वपूर्ण देखिन्छ।