Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांस्कृतिक संस्थानका कर्मचारीलाई आरबीबीको सहुलियत कर्जा

२०८३ भाद्र २५ गते

 

बैंकिङ खबर /  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित कार्यक्रममा समझदारी-पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानमा कार्यरत कर्मचारीका लागि तलबी बचत खाता तथा ‘पेशाकर्मी सरल कर्जा’ सञ्चालन गर्नेछ। साथै, कर्मचारीलाई सहुलियत दरमा विभिन्न बैंकिङ सेवा तथा सुविधासमेत उपलब्ध गराउने बैंकले जनाएको छ। यस सहकार्यबाट सांस्कृतिक संस्थानका कर्मचारीले सहज तथा सहुलियतपूर्ण बैंकिङ सेवा प्राप्त गर्नुका साथै बैंकको व्यवसाय विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

समझदारी-पत्र हस्ताक्षर कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनय रमण पौडेल र पवन रेग्मी, उपकार्यकारी अधिकृतहरू दुर्गा कुमारी कंडेल (छत्कुली), राम कुमार थापा र निम्बल श्रेष्ठलगायतको उपस्थिति थियो। कार्यक्रममा बैंकको ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख ध्रुवप्रसाद अर्याल तथा सांस्कृतिक संस्थानका प्रशासकीय अधिकृत शुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जी.सी. लगायत कर्मचारी सहभागी थिए।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्दै ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले निक्षेप तथा कर्जासँगै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।