Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बैंक तथा वित्तीय संस्था परिसंघको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

२०८३ भाद्र २६ गते

बैंकिङ खबर / बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले सम्हाल्ने भएका छन् ।

सिबिफिनका निवर्तमान अध्यक्ष प्रचण्डमान श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएपछि परिसंघको अध्यक्ष पद रिक्त भएको थियो। उक्त राजीनामा स्वीकृत भएसँगै अध्यक्ष पद रिक्त रहेपछि सिबिफिन कार्यसमितिले उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्वलाई निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो ।

उपाध्याय प्रभु महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुन्। बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय उनी अनुभवी व्यवसायी, रणनीतिक योजनाकार तथा संस्थागत विकासमा योगदान पुर्‍याएका व्यक्तिका रूपमा परिचित छन् ।

सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहँदै आएका उपाध्यायले संस्थाको विकास तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको नेतृत्वदायी भूमिकामा रहेर हासिल गरेको उनको अनुभवले सिबिफिनको आगामी कार्यदिशालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वर्तमान आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले सामना गरिरहेका नीतिगत तथा व्यावहारिक चुनौती समाधानका लागि उपाध्यायको अनुभव, समन्वयकारी क्षमता र दूरदर्शी नेतृत्व महत्वपूर्ण हुने सिबिफिनको विश्वास छ। उनको नेतृत्वमा परिसंघले आफ्ना उद्देश्य, नीतिगत प्राथमिकता र भूमिकालाई थप प्रभावकारी बनाउँदै बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता र दिगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।