Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

एउटा नमुना लघुवित्त धरासायी उन्मुख : नेरुडे मिर्मिरे ‘संकटपूर्ण अबस्थामा’ !

२०८३ कार्तिक १३ गते

सञ्चालक समितिको किचलो, कर्मचारी असन्तुष्टि, सीईओ परिवर्तन, बढ्दो खराब कर्जा र कमजोर पुँजीकोषले उठाएका गम्भीर प्रश्न

बैंकिङ खबर विशेष  रिपोर्ट 

कुनै समय राम्रो व्यवस्थापन, व्यवसाय विस्तार र लघुवित्तीय सेवाका कारण उदाहरणीय मानिने मिर्मिरे लघुवित्त अहिले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका रूपमा गम्भीर वित्तीय तथा संस्थागत चुनौतीको सामना गरिरहेको छ। एकातिर खराब कर्जा बढिरहेको छ, अर्कोतिर ब्याज आम्दानी खुम्चिएको छ। सञ्चालक समितिभित्रको विवाद, कर्मचारी असन्तुष्टि र प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तनका घटनाले संस्थाको व्यवस्थापन स्थिरतामाथि समेत प्रश्न उठाएका छन्।

मर्जरपछि संस्था ठूलो भयो। शाखा सञ्जाल विस्तार भयो। लाखौँ सेवाग्राहीसम्म पहुँच पुगेको छ। तर संस्थाको आकार बढ्नु र वित्तीय रूपमा बलियो हुनु एउटै कुरा होइन भन्ने तथ्य पछिल्लो वित्तीय विवरणले देखाउन थालेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा संस्थाले २ करोड ८० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको संस्थाको निष्क्रिय कर्जा अनुपात बढेर २१.७३ प्रतिशत पुगेको छ। खुद ब्याज आम्दानीसमेत उल्लेख्य रूपमा घटेको छ।

यी तथ्याङ्कले एउटा गम्भीर प्रश्न जन्माएका छन् – मिर्मिरेजस्तो पहिले राम्रो मानिएको लघुवित्त मर्जरपछि किन कमजोर बन्दै गयो ? समस्या मर्जरको प्रक्रियामा थियो, संस्थागत सुशासनमा थियो, कर्जा व्यवस्थापनमा थियो वा समग्र लघुवित्त क्षेत्रमा देखिएको संकटको प्रभाव हो ?

यसको जवाफ खोज्न मिर्मिरेको मर्जरअघिको अवस्था, मर्जरपछिको घटनाक्रम र पछिल्लो वित्तीय अवस्थालाई एकसाथ अध्ययन गर्न आवश्यक छ।

मर्जरअघि मिर्मिरेको पहिचान कस्तो थियो ?

मिर्मिरे लघुवित्तको विगतलाई नहेरी अहिलेको अवस्थाको निष्पक्ष मूल्याङ्कन गर्न सकिँदैन। मिर्मिरेले यसअघि पनि विभिन्न लघुवित्त संस्थालाई आफूमा गाभ्दै आफ्नो व्यवसाय विस्तार गरेको थियो। स्वेडा, नागबेली र बुद्धज्योतिजस्ता संस्थासँगको एकीकरण यसको संस्थागत इतिहासको हिस्सा हो । त्यसैले मिर्मिरेको इतिहास केवल एउटा सानो संस्थाको विस्तारको कथा थिएन। विभिन्न संस्थालाई समेटेर एउटै संरचनामा सञ्चालन गर्ने अनुभवसमेत यसले हासिल गरेको थियो ।

तर मर्जरअघि संस्था राम्रो मानिन्थ्यो भन्ने धारणालाई प्रमाणित गर्न त्यस अवधिका वित्तीय सूचक आवश्यक हुन्छन्। आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्मको खुद नाफा, निष्क्रिय कर्जा अनुपात, पुँजीकोष, कर्जा असुली र सञ्चालन खर्चको तुलनात्मक अध्ययनले मिर्मिरेको वास्तविक पुरानो अवस्था देखाउनेछ।

यही तुलनात्मक अध्ययन यो अनुसन्धानको पहिलो आधार हो। मर्जरअघि मिर्मिरेको कर्जा गुणस्तर राम्रो थियो र मर्जरपछि मात्र खराब कर्जा तीव्र रूपमा बढेको हो भने त्यसको कारण खोज्नुपर्ने हुन्छ। तर मर्जरअघि नै जोखिम सञ्चित थियो भने त्यसलाई पनि लुकाउन मिल्दैन।

नेरुडे र मिर्मिरेको मर्जर: नयाँ संस्थाको सुरुवात

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच २०७९ पुस ११ गते मर्जर सम्झौता भएको थियो। नेपाल राष्ट्र बैंकबाट २०८० कात्तिक ३ गते अन्तिम स्वीकृति प्राप्त भएपछि २०८० फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका नाममा एकीकृत कारोबार सुरु भयो। मर्जरको मूल उद्देश्य संस्था बलियो बनाउनु, सञ्चालन खर्च व्यवस्थापन गर्नु, शाखा सञ्जाल र सेवाग्राहीको पहुँच विस्तार गर्नु तथा कर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउनु थियो ।

तर दुई संस्था कानुनी रूपमा गाभिनु र तिनको संस्थागत संस्कृति, कर्मचारी व्यवस्थापन, सूचना प्रणाली, कर्जा अभिलेख तथा निर्णय प्रक्रियाको वास्तविक एकीकरण हुनु फरक विषय हुन्। मर्जरपछि पुराना दुई संस्थाका कर्मचारीले समान सेवासुविधा पाए कि पाएनन् ? जिम्मेवारी बाँडफाँट कसरी भयो ? शाखा तथा क्षेत्रीय कार्यालयको कार्यसम्पादन कसरी एकीकृत गरियो ? कर्जा असुली र जोखिम अनुगमनको एउटै प्रभावकारी प्रणाली बन्यो कि बनेन ?

यी प्रश्नको जवाफबिना मर्जरको वास्तविक सफलता मूल्याङ्कन गर्न सकिँदैन।

कर्मचारी विवादबाटै देखिन थालेको असन्तुष्टि

नेरुडे मिर्मिरेमा मर्जरपछि कर्मचारी समायोजन र सेवासुविधालाई लिएर विवाद सार्वजनिक भएको थियो। समाचारअनुसार साविक नेरुडेका कर्मचारीले मर्जरका क्रममा चार ग्रेड वृद्धि गर्ने सहमति भएको तर पछि दुई ग्रेड मात्र दिइएको भन्दै असन्तुष्टि जनाएका थिए। सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएका थिए।

कर्मचारीको असन्तुष्टि केवल तलब वा ग्रेडको विषयमा सीमित हुन्छ भन्ने छैन। मर्जरपछि जिम्मेवारी, पद, बढुवा, सरुवा, कार्यसम्पादन मूल्याङ्कन र संस्थाभित्रको व्यवहारमा समानता नभएको महसुस भएमा त्यसले काम गर्ने वातावरणमा असर पार्न सक्छ ।

सञ्चालक समितिको विवादले संस्थालाई कहाँ पुर्‍यायो ?

कर्मचारी असन्तुष्टिसँगै संस्थाको सञ्चालक समितिभित्रको विवाद पनि सार्वजनिक भयो। समाचारअनुसार अध्यक्ष पदलाई लिएर सञ्चालकहरू विभाजित भए  अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव, निर्णयको वैधता र सञ्चालक समितिको बहुमतसम्बन्धी विवाद राष्ट्र बैंकसम्म पुगेको थियो ।

कुनै पनि वित्तीय संस्थामा सञ्चालक समिति संस्थाको दीर्घकालीन रणनीति, जोखिम व्यवस्थापन र व्यवस्थापनको निगरानी गर्ने निकाय हो। यस्तो निकायमा निरन्तर विवाद भइरहँदा संस्थाको प्राथमिकता प्रभावित रहन्छ।

राष्ट्र बैंकको कारबाही: पुँजीकोषमा देखिएको दबाब

नेरुडे मिर्मिरेको वित्तीय अवस्थाबारे सबैभन्दा गम्भीर संकेत पुँजीकोषसम्बन्धी नियामकीय कारबाही हो। सार्वजनिक विवरणअनुसार २०८२ असार मसान्तमा संस्थाको न्यूनतम पुँजीकोष अनुपात ६.०१ प्रतिशत रहेको थियो। नियामकीय मापदण्डअनुसार आवश्यक अनुपात कायम गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले संस्थालाई शीघ्र सुधारात्मक कारबाहीको दायरामा राखेको थियो।

पुँजीकोष वित्तीय संस्थाले सम्भावित जोखिमबाट हुने नोक्सानी धान्न सक्ने क्षमतासँग सम्बन्धित महत्त्वपूर्ण सूचक हो। खराब कर्जा बढ्दै जाँदा कर्जा नोक्सानी व्यवस्था बढाउनुपर्ने हुन्छ। त्यसले नाफा घटाउन र पुँजीमा दबाब पार्न सक्छ। २०८२ असारको ६.०१ प्रतिशत पुँजीकोष अनुपात र २०८३ असोज मसान्तको ९.१७ प्रतिशत अनुपातलाई तुलना गर्दा सुधार भएको देखिन्छ। तर पछिल्लो अनुपात पनि अघिल्लो वर्षको सोही अवधिको १०.२७ प्रतिशतभन्दा कम छ। त्यसैले सुधारका संकेत र अझै कायम रहेको जोखिम दुवैलाई ध्यान दिनुपर्छ।

कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विषयले थपेको प्रश्न

संस्थाको विगतको वित्तीय विवरणमा कर्जा नोक्सानी व्यवस्थासम्बन्धी नियामकीय निर्देशन र त्यसको पुँजीकोषमा परेको प्रभावबारे उल्लेख गरिएको छ। केही सार्वजनिक समाचारमा कर्जा नोक्सानी व्यवस्था समायोजन, लेखांकन र त्यससँग सम्बन्धित व्यवस्थापकीय जिम्मेवारीबारे प्रश्न उठाइएको थियो। यस विषयमा राष्ट्र बैंकको मूल निर्देशन, लेखापरीक्षण प्रतिवेदन र संस्थाको आधिकारिक जवाफ अध्ययन गर्न आवश्यक छ।

कर्जा नोक्सानी व्यवस्था भनेको असुल हुन नसक्ने सम्भावना भएको कर्जाबाट हुने नोक्सानी धान्न छुट्याइने रकम हो। यस्तो व्यवस्था पर्याप्त भएन भने वित्तीय विवरणमा नाफा वास्तविक जोखिमको तुलनामा बढी देखिन सक्छ। पछि थप व्यवस्था गर्नुपर्दा नाफा र पुँजीमा दबाब पर्न सक्छ।

सीईओ परिवर्तन: नेतृत्व स्थिरताको प्रश्न

मर्जरपछिको संस्थागत विवाद र वित्तीय कमजोरीबीच नेतृत्व परिवर्तनको घटनाक्रम पनि महत्त्वपूर्ण छ। २०८३ भदौ ३० गते बसेको सञ्चालक समितिको ४०५औँ बैठकले मिनबहादुर बोहरालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। उनको नियुक्ति २०८३ असोज १ गतेदेखि लागू भयो। यसअघि सीईओ रहेका केशवकुमार पौडेलको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरिएको थियो। यसअघि पनि संस्थाको व्यवस्थापन र नेतृत्वसम्बन्धी विवाद सार्वजनिक भएका थिए। तर सीईओ परिवर्तनको प्रत्येक घटनालाई आन्तरिक विवादकै परिणाम मान्न मिल्दैन।

अब नयाँ नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती संस्थाको कर्जा गुणस्तर सुधार्नु, असुली प्रणाली बलियो बनाउनु, कर्मचारीलाई एउटै व्यावसायिक उद्देश्यमा जोड्नु र सञ्चालक समितिसँग स्पष्ट जिम्मेवारी बाँडफाँट गर्नु हुनेछ। नेतृत्व परिवर्तनले मात्र संस्था सुध्रिँदैन। त्यसका लागि मापन गर्न सकिने सुधार योजना, समयसीमा र नतिजाको नियमित समीक्षा आवश्यक हुन्छ।

खराब कर्जा २१.७३ प्रतिशत: वित्तीय संकटको सबैभन्दा गम्भीर संकेत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म आइपुग्दा नेरुडे मिर्मिरेको निष्क्रिय कर्जा अनुपात २१.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात १५.७० प्रतिशत थियो। एक वर्षमा निष्क्रिय कर्जा अनुपात ६.०३ प्रतिशत बिन्दुले बढेको छ।

यसको अर्थ संस्थाको कर्जा पोर्टफोलियोमा ठूलो जोखिम छ। कर्जाको ठूलो हिस्सा समयमै असुल हुन नसक्दा ब्याज आम्दानी प्रभावित हुन्छ र सम्भावित नोक्सानी व्यवस्थाका लागि थप रकम छुट्याउनुपर्छ।

संस्थाले पहिलो त्रैमासमा कर्जा तथा अन्य नोक्सानीका लागि १० करोड २७ लाख रुपैयाँभन्दा बढी व्यवस्था गरेको छ। तर कुल निष्क्रिय कर्जाको तुलनामा यस्तो व्यवस्थाको अनुपात ३९.७२ प्रतिशत मात्र रहेको वित्तीय विवरणमा उल्लेख छ।

नाफाबाट घाटामा: आम्दानीको स्रोत नै खुम्चियो

नेरुडे मिर्मिरेको पछिल्लो वित्तीय विवरणमा देखिएको अर्को गम्भीर पक्ष खुद ब्याज आम्दानीमा आएको गिरावट हो। खुद ब्याज आम्दानी करिब २८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष नाफामा रहेको सञ्चालन परिणाम चालु वर्षमा घाटामा गएको छ। कर्जा नोक्सानी खर्चसमेत बढेको छ। संस्थाको कुल सम्पत्ति बढेको भए पनि आम्दानी र कर्जाको गुणस्तरमा सुधार देखिएको छैन। यसको अर्थ व्यवसायको आकार मात्र बढाएर समस्या समाधान हुँदैन। ऋण लगानीको गुणस्तर, नियमित असुली र जोखिमअनुसारको प्रतिफल महत्त्वपूर्ण हुन्छ।

मर्जरअघि उत्कृष्ट मिर्मिरे : २० करोडभन्दा बढी नाफा, खराब कर्जा १.५५ प्रतिशत मात्रै

कुनै समय मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त क्षेत्रमा राम्रो वित्तीय प्रदर्शन गर्ने संस्थामध्ये एक थियो। नाफा, व्यवसाय विस्तार र कर्जा असुलीका सूचकले मिर्मिरेको त्यतिबेलाको अवस्था सकारात्मक रहेको देखाउँछन्। विशेषगरी आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा संस्थाले करिब २० करोड रुपैयाँभन्दा बढी वार्षिक खुद नाफा कमाएको थियो भने खराब कर्जा अनुपात पनि तुलनात्मक रूपमा न्यून थियो।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा मिर्मिरेको खुद नाफा २० करोड १ लाख रुपैयाँ पुगेको थियो। अघिल्लो वर्षको ३ करोड ४३ लाख रुपैयाँको तुलनामा यो उल्लेख्य वृद्धि थियो। संस्थाको खुद ब्याज आम्दानी ४४ करोड ३२ लाख रुपैयाँ पुगेको थियो भने कर्जा लगानी करिब ६ अर्ब ७७ करोड रुपैयाँ थियो। त्यतिबेला खराब कर्जा अनुपात १.९९ प्रतिशतमा सीमित थियो। यसले कर्जा विस्तारसँगै खराब कर्जा नियन्त्रणमा राख्न संस्था सफल देखिएको संकेत गर्छ।

आर्थिक वर्ष २०७८/७९ मा पनि मिर्मिरेको वित्तीय प्रदर्शन सकारात्मक रह्यो। संस्थाले २० करोड ८१ लाख रुपैयाँ खुद नाफा कमायो। कर्जा लगानी करिब ८ अर्ब रुपैयाँ नाघ्यो र खराब कर्जा अनुपात घटेर १.५५ प्रतिशत मा झर्‍यो। त्यही वर्षको नाफाबाट सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनु पनि संस्थाको तत्कालीन वित्तीय अवस्थाको एउटा महत्त्वपूर्ण पक्ष थियो।

अर्थात्, मर्जरअघि मिर्मिरेको खराब कर्जा अनुपात करिब डेढ प्रतिशतको तहमा थियो। लघुवित्तको व्यवसायमा कर्जा असुली र ऋणको गुणस्तर महत्त्वपूर्ण हुने भएकाले यस्तो अनुपातलाई संस्थाको सकारात्मक पक्षका रूपमा लिन सकिन्छ।

तर आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा भने अवस्था बदलिन थालेको देखियो। अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाको नाफा घटेर २ करोड ८२ लाख रुपैयाँमा सीमित भयो। यसै अवधिमा खराब कर्जा अनुपात बढेर ३.४७ प्रतिशत पुग्यो। यसले मर्जरअघि नै संस्थाको कर्जा गुणस्तरमा दबाब बढ्न थालेको संकेत गर्छ। त्यसैले मिर्मिरेको इतिहास हेर्दा दुई पक्ष महत्त्वपूर्ण छन्। पहिलो, आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा संस्थाले राम्रो नाफा र न्यून खराब कर्जासहित सकारात्मक वित्तीय प्रदर्शन गरेको थियो। दोस्रो, मर्जरको प्रक्रियामा प्रवेश गर्नुअघि नै नाफा घट्ने र खराब कर्जा बढ्ने संकेत देखिन थालेका थिए। मिर्मिरेको मर्जरपूर्वको राम्रो वित्तीय अवस्थालाई बुझ्न १.५५ प्रतिशतको खराब कर्जा अनुपात महत्त्वपूर्ण तथ्य हो। 

के मर्जर अघि खराब कर्जा लुकाइएको थियो ?

यस कुराले एउटा अध्ययनको विषय खडा गरेको छ कि मर्जर अघि दुवै लघुवित्तले खराव कर्जा लुकाएका थिए त ? नेरुडे र मिर्मिरे लघुवित्त एकआपसमा गाभिएपछि बनेको नेरुडे-मिर्मिरे लघुवित्तको खराब कर्जा २१ प्रतिशत नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म संस्थाको निष्क्रिय कर्जा अनुपात २१.७३ प्रतिशत पुगेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो अनुपात १५.७० प्रतिशत थियो। यससँगै संस्था करिब २ करोड ८० लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ। 

खराब कर्जामा आएको यो वृद्धिले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ-मर्जरअघि दुवै संस्थाको कर्जा गुणस्तर वास्तवमै प्रकाशित वित्तीय विवरणमा देखिएजस्तै थियो, कि केही कर्जामा रहेको जोखिम पछि मात्र स्पष्ट भएको हो ?

मर्जरअघिका वित्तीय विवरण हेर्दा नेरुडे र मिर्मिरेको अवस्था समान थिएन। मिर्मिरेको खराब कर्जा अनुपात आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा १.५५ प्रतिशत रहेको विवरण छ। त्यसको विपरीत, नेरुडेको खराब कर्जा अनुपात सोही अवधिमा करिब ४.७४ प्रतिशत रहेको सार्वजनिक विवरणले देखाउँछ। यसले मर्जरअघि नै दुवै संस्थाको कर्जा गुणस्तर फरक रहेको संकेत गर्छ।

मिर्मिरेको हकमा पनि त्यसपछिको अवस्था स्थिर रहेन। आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा यसको खराब कर्जा अनुपात बढेर ३.४७ प्रतिशत पुगेको थियो। यसले मर्जरअघि नै कर्जा असुली वा कर्जा गुणस्तरमा दबाब देखिन थालेको प्रश्न उठाउँछ।  यस विषयलाई थप गम्भीर बनाउने अर्को तथ्य कर्जा नोक्सानी व्यवस्थासम्बन्धी नियामकीय प्रश्न हो। सन् २०२६ मा प्रकाशित विवरणअनुसार नेपाल राष्ट्र बैंकले नेरुडे मिर्मिरेमा करिब ८१ करोड ५५ लाख रुपैयाँको कर्जा नोक्सानी व्यवस्था उल्ट्याएर आम्दानीमा देखाइएको विषयमा प्रश्न उठाएको थियो र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको थियो। 

संस्थाको कर्जा जोखिमको लेखांकन र नोक्सानी व्यवस्थालाई नियामकले प्रश्न उठाएको तथ्य भएकाले वित्तीय विवरणको विश्वसनीयताबारे थप अनुसन्धान गर्नुपर्ने आधार हो।

यदि मर्जरअघि नियमित वा कम जोखिमयुक्त देखाइएका कर्जा पछि ठूलो परिमाणमा निष्क्रिय वर्गमा परेको प्रमाण भेटियो भने कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा कमजोरी थियो कि थिएन भन्ने प्रश्न थप बलियो हुन्छ। त्यस्तो कमजोरी जानाजानी गरिएको थियो कि व्यवस्थापन, असुली वा आर्थिक परिस्थितिका कारण उत्पन्न भयो भन्ने कुरा अहिले आशंकाको घेरामा छ । 

Ad