September 4th, 2022

धितोपत्र बजार के हो ? हेर्नुस्, खरिद र बिक्री सम्बन्धी सम्पूर्ण जानकारी

सरकार तथा कम्पनीहरूले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी) द्वारा निष्कासन तथा बिक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषको एकांकलगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्स्चेन्ज) मा खरिद–बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद–बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन् भनी परिभाषित गरेको छ । 

नेपालमा पहिलोपटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलोपटक ऋण निष्कासन गरेको थियो । निजी क्षेत्रबाट भने ०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरूमध्ये हिमालयन बैंकले ०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।

धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । तपाईँको यस्तै समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बैँकिङ खबर डट कमले धितोपत्र बजारसम्बन्धि केही महत्वपूर्ण शब्दावलीहरुबारे प्रकाश पार्ने जमर्को गरेको छ । 

लाभांश र बोनश शेयर

कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ ।

कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर (बोनश शेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।

मर्चेण्ट बैंक

धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।

धितोपत्र दलाल

ग्राहकको तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ ।

धितोपत्र ब्यापारी

प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।

बजार निर्माता

नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।

शेयर रजिष्ट्रार

संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ ।

डिवेञ्चर

तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ ।

यदि कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

वारेन्ट

कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण शेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकारनै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ ।

भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण शेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण शेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण शेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।

ब्लू चिप शेयर

संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको शेयरलाई ब्लू चिप शेयर भनिन्छ । यस प्रकारका शेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।

धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली

सम्पूर्ण धितोपत्रवालाहरुको धितोपत्रहरुको जिम्मा लिई खरीद बिक्रीको रेकर्ड, नमासारी, हस्तान्तरण जस्ता कार्यहरु सरल र छिटो छरितोरुपमा सम्पन्न गर्न सघाउ पुयाउने प्रणालीलाई धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली भनिन्छ ।

निक्षेपकर्ताहरुले बैंकमा रकम राखे जस्तो धितोपत्रवालाहरुले यस प्रणाली अन्तर्गत आफ्ना धितोपत्रहरु निक्षेप राखी खाता खोल्न सक्छन् । यस प्रणालीले धितोपत्र नासिने, हराउने, चोरी हुने, नक्कली शेयर निस्कने जस्ता समस्याहरु हटाउँदछ । साथै यस प्रणालीले कारोबार लागत घटाउन समेत मद्दत गर्दछ ।

प्रत्याभूति

प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रहरुको बिक्री नभएमा त्यस्तो धितोपत्रहरु खरीद गर्ने कवुलियत गर्नुलाई धितोपत्रको प्रत्याभूति भनिन्छ । प्रत्याभूतिकर्ताले धितोपत्रको प्रत्याभूति गरे वापत सम्बन्धित निष्काशनकर्ता कम्पनीबाट सम्झौता बमोजिमको शूल्क प्राप्त गर्दछन् ।

विवरणपत्र

सार्वजनिकरुपमा धितोपत्र निष्काशन गर्नु अघि सम्बन्धित संगठित संस्थाले विवरणपत्र प्रकाशन गर्नुपर्दछ । विवरणपत्रमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थासँग सम्बन्धित विस्तृत विवरणहरु खुलाइएको हुन्छ र लगानीकर्ताहरुलाई उक्त विवरणहरुको आधारमा सम्बन्धित संगठित संस्थाको धितोपत्रमा लगानी गर्ने वा नगर्ने भनी निर्णय गर्न सघाउ पुग्दछ ।

धितोपत्रको अधिक र न्यून माग

सर्वसाधारणमा निष्काशन खुल्ला गरिएका धितोपत्र खरीदका लागि धेरै दरखास्त परी निष्काशन गरिएको भन्दा बढी धितोपत्रहरुको माग स्थितिलाई धितोपत्रको अधिक माग र कम धितोपत्रको माग भएको स्थितिलाई धितोपत्रको न्यून माग भनिन्छ ।

धितोपत्रको अधिक माग भएको स्थितिमा कम कम परिमाणमा माग गर्ने समूहलाई बढी र क्रमशः बढ्दो परिमाणमा धितोपत्रको माग गर्ने समूहलाई क्रमशः कम भार दिई धितोपत्र बाँडफाँट गर्नुपर्ने ब्यवस्था रहेको छ ।

थप मूल्य

धितोपत्र निष्काशन गरिने मूल्य र अंकित मूल्य विचको फरकलाई प्रिमियम भनिन्छ । धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्काशन गरिएको अवस्थालाई प्रिमियममा धितोपत्र निष्काशन गरिएको भनिन्छ ।

खरीद प्रस्ताव तथा बिक्री प्रस्ताव मूल्य

कुनै सम्भावित खरीदकर्ताले तिर्न चाहेको धितोपत्रको मूल्यलाई अफर प्राइस भनिन्छ । धितोपत्र बजारको कारोबार पाटीमा धितोपत्र दलालहरुद्वारा अंकित गराइएको बिड प्राइस अर्थात अफर प्राइस मिलेपछि धितोपत्र खरीद बिक्री कारोबार सम्पन्न हुन्छ ।

सूचीकृत धितोपत्रको चुक्ता मूल्य

सम्पूर्ण धितोपत्रवालाहरुद्वारा चुक्ता गरिएको सूचीकृत धितोपत्रको मूल्यको कूल जोडलाई धितोपत्रको चुक्ता मूल्य भनिन्छ ।

बजार पुँजीकरण

धितोपत्र विनिमय बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरुको संख्या र तिनको आ(आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण प्राप्त हुन्छ ।

बजार परीसूचक

सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परीसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि. ले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ, जसलाई नेप्से परिसूचक भनिन्छ ।

प्रतिशेयर बजार मूल्य

कुनै शेयरको धितोपत्र बजारमा कायम भएको मूल्यलाई प्रतिशेयर बजार मूल्य भनिन्छ ।

प्रतिशेयर आम्दानी

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानीले शेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण माप प्रदान गर्दछ । प्रतिशेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिशेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ ।

नेट वर्थ

कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो । नेट वर्थलाई कम्पनीको कूल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ वा शेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

मूल्य सम्वेदनशील सूचना

कम्पनीद्वारा गरिएको लाभांश वितरण वा बोनश शेयर निष्काशन सम्बन्धी घोषणा, ब्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय परिमाणहरु, अन्य पक्षहरुसँग हुने महत्वपूर्ण सम्झौताहरु तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुयाउने घट्ना तथा अन्य सूचना र जानकारीहरुलाई मूल्य सम्वेदनशील सूचना भनिन्छ ।

भित्री कारोबार

नियमानुसार कम्पनीका लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने तर सार्वजनिक भै नसकेका कम्पनीको सूचनाहरुको आधारमा कम्पनीसँग प्रत्यक्ष सम्बन्धित ब्यक्ति वा निजको नजिकको ब्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार भनिन्छ । यस प्रकारको कारोबार गर्न प्रचलित ब्यवस्थाले बन्देज लगाएको छ ।

अधोन्मुख र उन्नतोन्मुख धितोपत्र बजार

धितोपत्रको उन्नतोन्मुख बजार भन्नाले बजारको क्रमिकरुपमा उभो लाग्दै गरेको स्थितिलाई जनाउँछ । यस प्रकारको बजारमा उद्योग, बैकिङ्ग, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशल ब्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ ।

यस वेला सूचीकृत कम्पनीहरुको शेयरको मूल्य बढी रहेको हुन्छ । अर्को तर्फ धितोपत्रको अधोन्मुख बजार भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ ।

सञ्चालकहरु र सञ्चालक समिति

कुनै पनि कम्पनीको सम्पूर्ण कारोबारको प्रवन्ध, अधिकारको प्रयोग तथा कर्तब्यको पालना गर्ने जिम्मेवारी बोकेका ब्यक्तिहरु नै कम्पनीको सञ्चालक हुन ।

कम्पनीका सञ्चालकहरुको नियुक्ती प्रथम वार्षिक साधारण सभा नभएसम्म संस्थापकहरुद्वारा र तत्पश्चात साधारण सभाद्वारा हुने गर्दछ । कुनै पनि कम्पनीको सञ्चालक हुनका लागि सो कम्पनीको नियमावलीमा तोकिए बमोजिमको शेयर लिएको हुनु पर्दछ ।

वार्षिक साधारण सभा

कम्पनीले वर्ष भरीमा गरेको काम कारवाही, उपलब्धी, समस्या तथा भावी योजनाहरुको सम्बन्धमा शेयरवालाहरुलाई जानकारी गराउनुका साथै कम्पनीको वार्षिक हिसाब पारित गर्ने, लेखापरीक्षकको नियुक्ती गर्ने र अन्य महत्वपूर्ण विषयवस्तुहरु अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्वारा प्रत्येक वर्ष बोलाउनुपर्ने शेयरधनीहरुको सभालाई वार्षिक साधारण सभा भनिन्छ । नेपालमा प्रचलित नियम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र यस प्रकारको सभा बोलाउनुपर्ने ब्यवस्था रहेको छ ।

प्रतिनिधि

कम्पनीको वार्षिक साधारण सभामा कुनै शेयरवाला स्वयं उपस्थित हुन नसक्ने भएका निजले तोकिए बमोजिमको ढाँचामा निवेदन लेखी सहीछाप गरेर आफ्नो मतदान गर्ने अधिकार दिएको अन्य कुनै ब्यक्तिलाई प्रतिनिधि भनिन्छ ।

कुनै पनि कम्पनीको शेयरवालाले सोही कम्पनीको अर्को शेयरवालालाई मात्र यस प्रकार प्रतिनिधि मनोनित गर्न सक्छ ।