बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै हरेक साता तरलता प्रशोचन गर्ने गरेको नेपाल राष्ट्र बैंकले आगामी आईतबार बैैकिङ प्रणालीमा तरलता पठाउँदै छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएको भन्दै राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ तरलता पठाउन लागेको हो । कुनै समयमा २ खर्ब रुपैयाँसम्मको तरलता हुने गरेको बैंकिङ प्रणालीमा अहिले १२ अर्ब मात्र रहेको छ ।
घट्यो रेमिट्यान्स
रेमिट्यान्स आय घट्न थालेपछि बैंकिङ प्रणालीको तरलता प्रभावित भएको विज्ञहरु बताउँछन् । चालु आर्थिक वर्षको पहिलो महिनामै रेमिट्यान्स भित्रिने क्रम घटेको छ । यस वर्षको साउनमा रेमिट्यान्स वृद्धिदर मात्र होइन, रेमिट्यान्स २.५ प्रतिशतले घटेर ५१ अर्ब ९४ करोडमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
घट्दो रेमिट्यान्सको प्रभाव
रेमिट्यान्स आप्रवाहमा कमी आउँदा बैंकहरुमा रेमिट्यान्स शूल्कबाट हुने आम्दानीमा कमी आउने हुन्छ । फलस्वरुप, बैंकहरुमा लगानीयोग्य पुँजी अभाव हुन जान्छ । त्यस्तै, रेमिट्यान्स घट्दा नेपालीको क्रयशक्ति घट्छ । बहुमत नेपालीको क्रयशक्ति रेमिटेन्स आयका कारण बढेकाले रेमिट्यान्स घट्दा प्रत्यक्ष उपभोगमा कमी आउँछ । उपभोक्ताले रकम खर्च यसै पनि घरेलु उत्पादन बढ्न नसकेको नेपालमा उपभोगमा कमी आउँदा औद्योगिक लगायत घरेलु उद्योगमा असर पर्छ ।
विदेशीनेको संख्या घट्यो
गत वर्षको भूकम्पपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य घटेपछि रेमिटेन्सको प्रवाह घट्ने अनुमान गर्न थालिएको थियो । श्रम विभागका अनुसार आव ०७२/७३ मा बिदेसिने नेपालीको संख्या १८.४ प्रतिशतले घटेको छ ।


