२०७३ आश्विन १३ गते

सक्षमसँग मिलेर सुदुरपश्चिम पुग्दै सानिमा बैंक : १३ जिल्लामा विपन्न कर्जा

img_10791सानिमा बैंक लिमिटेड र यू.के. ऐड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले नेपालमा मध्य र सुदुर–पश्चिमका १३ जिल्लाहरुमा विपन्न वर्ग कर्जा प्रवाह सबल बनाउनका लागी साझेदारी गरेका छन् । उक्त साझेदारीमा सानिमा बैंकका तर्फबाट सानिमा बैंकका  नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र यु.के.ऐड सक्षमका तर्फबाट टिम लिडर बलजित बोहराले हस्ताक्षर गरे । हाल यो क्षेत्रमा बढ्दै गएको विपन्न कर्जाहरु जस्तै कृषि कर्जा तथा साना तथा मझौला कर्जा समेट्नका लागि कालिकोट जिल्लामा सानिमा बैंकको नँया शाखा सञ्चालन गरिने बैंकले जनाएको छ । यस कार्यक्रम अन्तर्गत लक्षित जिल्लाहरु झापा, धादिङ्ग, चितवन, सुनसरी, बांके, सखुंवासभा, रुपन्देही, मकवानपुर, कैलाली, दाङ, सुर्खेत, कञ्चनपुर र कालिकोट हुन् ।

कालिकोटमा प्रस्तावित उक्त शाखाले बैंकको निक्षेप सकंलन तथा कर्जा प्रदान गर्ने सुविधा लगायत अन्य थप बैंकिङ्ग सेवाहरु ग्रामिण भेग सम्म पुर्याउने योजना रहेको छ । बैंकले उपरोक्त जिल्लाहरुमा अवस्थित शाखाहरुबाट विपन्न वर्गमा समर्पित भएर काम गर्न आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ । 

img_10781सानिमा बैंकले स्थापनाकाल देखि नै बिपन्न वर्ग कर्जामा लगानी गर्दै आएको र आगामी दिनमा समेत उक्त क्षेत्रमा लगानी बढाउँदै जाने योजना रहेको सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । यू.के. ऐड सक्षम का टिम लिडर बोहराले अन्य बैंक तथा वित्तिय संस्थाबाट बित्तीय सेवा परिपूर्ति नभएका समुह/समाजलाई सानिमा बैंकको माध्यमबाट सेवा प्रदान गर्न सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

नेपाल राष्ट्र बैंक लघुबित्त बिकास सुपरिवेक्षण विभागका निमित्त प्रमुख बलराम पराजुलीले विपन्न वर्गलाई आर्थिक रुपले सवल बनाउने कार्य सुपरिवेक्षण सस्थाको मात्र नभएर समग्र वित्तीय क्षेत्रको सरोकारको विषय भएको बताए । साथै बित्तीय क्षेत्र सुधार गर्न गरिएको नँया पहललाई नेपाल राष्ट्र बैंकको सधै सहयोग रहने र नँया पहलले लक्षित जिल्लाको ग्रामीण समुदायको आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको कुरा पनि उल्लेख गरे ।

सक्षम यु.के.ऐड द्वारा फन्डेड बित्तीय कार्यक्रम हो । यो लुइस वर्जरद्वारा डीएफआईडी नेपाल स्थानिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा लागु गरिएको कार्यक्रम हो ।