गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)ले बोनश र हकप्रद सेयर जार गर्ने भएको छ । यही असोज २० गते हुने वार्षिक साधारसभापछि २५ प्रतिशत बोनश सेयर र ६० प्रतिशत हकप्रद सेयर दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले जानकारी दिए । उनका अनुसार बोनश र हकप्रद सेयर दिएपछि कम्पनीको पुँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ । त्यसमा यसपालीको मुनाफा जोड्दा ८० करोडमा चुक्ता पुँजी पुग्ने सीईओ तुलाधरले जनाए । ‘तर यति मै हामी सीमित हुँदैनौँ उनले बैंकिङ खबरसंग भने, ‘हामी अझै पुँजी वृद्धिको लागि अन्य प्रयास पनि गरिरहेका छौँ ।’ केही कम्पनीहरुलाई गुडविलमा गाभ्ने विषयमा पनि अनौपचारीक छलफल भईरहेको उनले बताए । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिअनुसार ०७४ असार मसान्तसम्म राष्ट्रिस्तरका फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्नेछ । कम्पनीले यही हप्ता पूर्वी इलामको फिदिम र इलाम जिल्लामा दुई वटा शाखा विस्तार गर्न लागेको पनि सीईओ तुलाधरले जानकारी दिए ।


