नेपालबाट चीनतर्फ अमेरीकी डलरको तस्करी हुने क्रम नरोकिदा नेपालमा डलरको अभाव हुने गरेको छ । श्रोतका अनुसार नेपाली व्यवसायी र चिनियाँ पर्यटकहरुले नेपाली बजारबाट डलर नगद संकलन गरी चीनतर्फ तस्करी गर्ने गरेका छन् । जसको कारण नेपाली बजारमा डलरको अभाव हुँदै आएको छ । ‘चिनियाँ पर्यटकहरु कार्ड बोकेर आउँछन् र यहाँबाट महँगो दरमा नगद डलर किनेर लैजान्छन् ।’ श्रोतले भन्यो, ‘चीनबाट आयत तथा सुन तस्करीको रकम भुक्तानीका लागी पनि डलर तस्करी हुने गरेको छ ।’
चीनको केन्द्रीय बैंकले नगद डलरको प्रवाहमा कडाइ गरेकाले त्यहाँको अनौपचारिक बजारमा डलर निकै महँगो पर्छ । त्यसैले नेपालबाट प्रचलित मूल्यभन्दा निकै महँगोमा डलर किनेर लाँदा पनि उनीहरुलाई फाइदा हुने गरेकाले डलर तस्करी भईरहेको व्यवसायीहरुको दाबी छ । उनीहरुको भनाइ अनुसार ‘पिपुल्स बैंक अफ चाइना (पिबिसी)’ ले नगद डलरको सञ्चिती बढाउने सरकारी नीतिअनुसार नगद डलरको प्रवाहलाई निरुत्साहित गर्ने नीति लिएको भनाइ रहेको छ ।
नेपालमा आउने चिनियाँ पर्यटकले कम मात्रामा नगद अमेरीकी डलरको खर्च गर्ने गरेको व्यवसायीहरुको भनाई छ । तर राष्ट्र बैंकले भने व्यवसायीहरुको दाबीलाई अस्वीकार गरेको छ । राष्ट्र बैंकका अनुसार नेपालमा नगद डलर किनेर लैजाँदा लागत बढी पर्ने भएकाले पनि त्यसरी तस्करी भएको भन्न मिल्दैन ।



