नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अक्सन मार्केट सञ्चालन गर्ने भएको छ । नेप्सेले धितोपत्रको दोस्रो बजारको कारोबार समयपछि एक घन्टा ‘अक्सन मार्केट’ सञ्चालन गर्ने तयारी थालेको हो । दोस्रो बजारमा सेयरको माग बढेको भन्दै सोको आपूर्ति गर्नका लागि ‘अक्सन मार्केट’ सञ्चालनको तयारी थालेको नेप्सेले जनाएको छ । जसअनुसार, धितोपत्र बजारको आवश्यक पूर्वाधारको रूपमा रहेको अक्सन मार्केट सञ्चालनका लागि नेप्सेले ‘अक्सन कारोबार कार्यविधि २०७३’ को मस्यौदा स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ । बोर्डले मस्यौदा स्वीकृत गरेपछि नेप्सेले बजार सञ्चालन गर्नेछ ।
कार्यविधिको मस्यौदाअनुसार आइतबारदेखि बिहीबारसम्म नियमित कारोबार समयपछि एक घण्टासम्म र शुक्रबार ११ बजेदेखि १२ बजेसम्म अक्सन मार्केट सञ्चालन हुनेछ । नेप्सेले सञ्चालन गर्ने सो बजारमा पनि धितोपत्र दलालहरू नै सहभागी हुनेछन् । बजार खुल्ने समयभन्दा अगावै आवश्यक सेयरको संख्या र मूल्य खुलाइ नेप्सेमा पेश गर्नुपर्छ भने खरिदकर्ताले पनि सोही प्रक्रियाअनुसार नेप्सेमा जानकारी गराउँछ ।
त्यस्तै, नयाँ बजार सुरु भएसँगै राफसाफ हुन नसकेको कारोबारको राफसाफ अक्सन मार्केटमार्फत नै हुनेछ । सेयर बिक्री गर्ने दलाल कम्पनीले सेयर उपलब्ध गराउन नसकेको खण्डमा अक्सन मार्केटबाट खरिद गरी राफसाफ गर्न सहयोग गर्छ ।
