सरकारले वैदेशिक रोजगारीका लागि अफगानिस्तान र इराकमा कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । द्धन्द्धग्रस्त देश भएकाले कामदारको सुरक्षाको कारण देखाउँदै सरकारले ती देशमा कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारीका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार मन्त्रालयले प्रतिबन्ध फुकुवाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ ।
राजधानीमा आयोजिक एक साक्षात्कार कार्यक्रममा मन्त्री गुरुङले निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रणाली जनताको हितमा रहेकाले त्यसलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै निःशुल्क आएको प्रवेशाज्ञामा बिचौलियाले सोझा सिधा कामदारसँग भित्र–भित्र रकम असुलेकामा त्यसको नियमन तथा अनुगमन गरिने बताए ।
ती देशबाट कामदारको सुरक्षाको प्रतिवद्दता प्राप्त भएमा र सरकारले प्रतिवन्ध फुकुवा गरेमा रेमिटेन्सको घट्दो वृद्धिदरमा आइरहेको गिरावट रोकिने अपेक्षा गरिएको छ ।
