२०७३ आश्विन १० गते

‘नेपाल बैंकमा कर्मचारी आन्दोलन सेलाएको छैन’

bhuwan-ghimireनेपाल बैंकमा कर्मचारीको आन्दोलन नसकिएको त्यहाँ क्रियाशील कर्मचारी संगठनका अध्यक्षले बताएका छन् । विगतमा व्यवस्थापनसँग भएका सहमतिहरु कार्यान्वयनको नभएसम्म आफुहरुको आन्दोलन कुनै हालतमा नरोकिने उनले बताए ।

माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर घिमिरेले व्यवस्थापनले दशैँसम्म आफुहरुको माग पूरा नगरे नेपाल बैंकमा काम गर्ने देशैभरिका कर्मचारीसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । माग पूरा गर्ने व्यवस्थापनको मौखिक आश्वासनले तत्काल मौन बसेपनि मागप्रति वेवास्ता गरी अघि बढ्न खोजे दसैँलगत्तै पुनः आन्दोलनमा उत्रिन बाध्य हुने उनले बताए । ‘हामीले व्यवस्थापनसंगको मौखिक सहमतिका आधारमा केही दिन आन्दोलन रोकेका हौँ उनले सोमबार बैंकिङ खबरसंग भने, तर भनेअनुसार मागहरु सम्बोधन भए दसैँपछि झन् कडा आन्दोलन गर्नेछौँ ।’

नेपाल बैंकमा क्रियाशील विभिन्न पाँच कर्मचारी युनियनले भदौ दोश्रो सातादेखि केही दिन विरोधस्वरुप धर्ना कार्यक्रम गरेका थिए । त्यहाँका कर्मचारी युनियन र बैङ्क व्यवस्थापनबीच गत २०७० फागुन २ गते भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । घिमिरेका अनुसार करारमा रहेका कर्मचारीलाई अवकाससहितको सेवासुविधा प्रदान गर्ने, कर्मचारीको उपदान वृद्धि गर्नुपर्ने, कर्मचारीको शिशु स्याहार भत्ता मासिक एक हजार रुपैयाँ प्रदान गर्नुपर्ने, कर्मचारीको पोसाक भत्ता वार्षिक चार हजार रुपियाँले वृद्धि गर्नुपर्ने लगायतका माग तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।

व्यवस्थापनसंग विगतमा भएका सम्झौता कार्यान्वयनको माग राख्दै बैङ्कमा क्रियाशील नेपाल बैङ्क राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन,नेपाल बैंक कर्मचारी संघ, वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल बैङ्क कर्मचारी युनियनले केही हप्ताअघिसम्म संयुक्त रूपमा धर्ना दिएका थिए ।

हाल नेपाल बैङ्क लिमिटेड केन्द्रीय कार्यालयमा दुई हजार ६ सय कर्मचारी रहेकामा करार सेवामा मात्र ६०० कर्मचारी रहेको बैङ्कले जनाएको छ । घिमिरेले कर्मचारीहरुको मागबारे व्यवस्थापनले गम्भीरता नदेखाए दसै लगत्तै शाखा कार्यालयका कर्मचारीहरुलाई समेत आन्दोलनमा उतार्ने चेतावनी दिए । सरकारी स्वामित्वमा रहेको नेपाल बैङ्क लिमिटेडको देशभर १ सय २६ वटा शाखा रहेका छन् ।